काठमाडौं-नेपालबाट वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या घटेपनि रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार माघसम्ममा रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएर ५ खर्ब ६७ अर्ब ७० करोड रूपैयाँ पुगेको छ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।
माघसम्ममा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भएर ६ खर्ब २९ अर्ब ८३ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो।
माघसम्मको अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आएर ७ अर्ब ८३ करोड रूपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आएर ९ अर्ब २ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८ अर्ब ३० करोड रूपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रूपैयाँ थियो।
माघसम्मको अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोड रूपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यसपटक ८१ करोड ७६ लाखले बचतमा छ।


















