सुर्खेत । एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका छन् । शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै विष्ट माओवादी केन्द्रमा फर्किएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेर विष्ट माओवादीमै फर्किएको एक स्रोतले जनायाे । उनी कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मासँग प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
मुख्यमन्त्री शाहीलाई हटाउन सक्रिय रहेका एमाले नेता यामलाल कँडेल निकट भएर विष्टले शाहीविरुद्ध हस्ताक्षर पनि गरेका थिए । त्यसपछि मुख्यमन्त्रीसँग उनको दुरी बढेको थियो । हस्ताक्षरपछि विष्ट एमालेका हरेक गतिविधिमा सरिक हुने गरेका थिए । सर्वोच्चको फैसलापछि भने उनी वार–पारको अवस्थामा थिए । यद्यपि, उनलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो ।


















