काठमाडाैं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ। पटकपटक मूल्यवृद्धि गर्दै उपभोक्तालाई चरम शोषण गरेकाे भन्दै सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेकाे हाे।
‘महिनामै कयौंपटक मात्र होइन हप्तैपिच्छे मूल्य बढाएर जनतामाथि बर्बरतापूर्वक लुट्न उद्यत भ्रष्ट सरकारको नियत दिनप्रतिदिन उदाङ्गो भएको छ। यस्ता उपभोक्तालाई चरम शोषण गर्ने सरकारविरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गर्दछाैं,’ उनले जनाएका छन्।
संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तुरुन्त फिर्ता गराउन र सरकारकाविरुद्ध कडा आन्दोलनमा उत्रिन आग्रह गरेका छन्।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाएकाे छ। याेसँगै एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ।
यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो। निगमले बढाएको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुने जनाइएको छ।


















