लन्डन । बेलायतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्यामा निरन्तर कमी आउँदै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले हिजाे मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ११० जना कोरोना संक्रमितको मृत्यु समाचार प्राप्त भएकाे छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ६९० पुगेको छ । मृतक संख्याको आधारमा बेलायत सबैभन्दा बहि मृत्यु हुने मुलुकमध्ये विश्वको पाँचौं स्थानमा पर्दछ ।
दुई करोड ६५ लाख बढी खोप वितरण
कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ४८ लाख ३९ हजार ९०६ जनाले खोपको पहिलो डोज लिएका छन् भने १६ लाख ६३ हजार ६४६ जनाले खोपको दोस्रो डोज लिएका छन् । कोरोना संक्रमणमा कमी आएसँगै बेलायतले बाह्य मुलुकबाट आउने पर्यटकलाई थप कडाइ गर्दै आएको छ ।
कोरोना महामारीको उच्च जोखिममा रहेको भन्दै इङ्ग्ल्यान्डले ३३ वटा मुलुकलाई ‘रेड लिष्ट’ मा राख्दै आएकोमा आउँदो सोमबारबाट अन्य केही मुलुकलाई पनि समावेश गरेको छ । नेपालीहरुको निकै चहलपहल हुने मुलुक कतारलाई पनि बेलायतले शुक्रबारबाट रेड लिष्ट’ को सूचीमा राखेपछि नेपालीहरु थप संकटमा परेका छन् । १९ मार्च शुक्रबार बिहान ४ बजेपछि कतार हुंदै बेलायत आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड तिर्नुपर्नेछ ।


















