काठमाडौं । गत शुक्रवार दक्षिणकाली नगरपालिकामा दुइ विद्यार्थी मृत भेटिएका थिए । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिँदैछ । १० कक्षामा अध्ययनरत उनीहरुले विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ ।
सनस्थित टेउडा स्कुलमा पढ्ने अर्जुन र क्षेत्रपाटीस्थित जिपी स्कुलमा पढ्ने मंगल साथी हुन् । प्रहरी अनुसन्धानबाट उनीहरु लागुऔषध प्रयोगकर्ता समेत रहेको थाहा भएको छ । चैत ५ मा बिहान १० बजे उनीहरु घरबाट हिँडेका थिए । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘मृतकले लागुऔषध सेवनकर्ता समेत हुन् ।’
दक्षिणकाली नगरपालिका–१ खहरेस्थित चाल्नाखेल जंगलमा उनीहरुको शव फेला परेको थियो । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटना अनुसन्धान गरिरहेका छन् ।


















