झा दम्पतीको शव नुन हालेर गाडिएको अवस्थामा भेटियाे

81

महोत्तरी । आफ्नै घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित विगत एक महिनादेखि वेपत्ता भएका महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पतीको शव फेला परेको छ ।

स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारिएका थिए ।

झा दम्पतीको   शव महोत्तरीको पिपरा गाउँपालिका २ अतराढस्थित सडक छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पाँच फिट तल गाडिएको अवस्थामा शव फेला परेका छन् भने चाँडै सडोस भन्ने उद्धेश्यसहित नून समेत राखेको पाइएको छ । उत्खनन् गर्दा दुई जनाको कंकालसँगै गीतादेवीले लगाएको चुराका टुक्रा पनि भेटिएको प्रहरीले जनायाे ।

प्रदेश प्रहरीका अनुसार मृतकका छोरा र भतिजाले उनीहरुको पहिचान गरेका थिए । यस विषयमा अनुसन्धान शुरू गरिएको प्रदेश नम्बर दुई प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

हालसम्म दम्पतीको घर र चौकसमा रगतका छिट्टा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरेको थियो ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषासमेत विभिन्न स्थानमा व्यापकरुपमा उनीहरूको खोजतलाश गरेको थियो ।

मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आशंका गरिएको थियो ।

प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि करीब चार दर्जन भन्दा बढी व्यक्तिलाई ल्याएर आवश्यक सोधपुछ गरेको थियो । बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन्।

परिवारजन र गाउँले छिमेकीले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिँदै आएका थिए । प्रदेशको अस्थायी राजधानी जनकपुर तथा देशको राजधानी काठमाडौँको माइतीघरमण्डलामा झा दम्पतीको खोजीको माग गर्दै प्रदर्शनसमेत पनि भएका थिए । पीडित परिवार र बाह्मण समाजले जनकपुरमा रिले अनशन पनि गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here