यसलाई पृथ्वीबाट सबैभन्दा नजिकको रेडियो ग्यालेक्सी मानिन्छ । यसबाट आउने प्रकाशको हरेक वेबलेन्थले केही बेग्लै बताइरहेको हुन्छ । यो पृथ्वीको दक्षिणी गोलार्द्र्धबाट सबैभन्दा स्पष्ट देखिन्छ ।
सेन्टारस ए ग्यालेक्सीको तस्वीरमा कालो धुलोले भरिएको लामो श्रृङ्खलामा केही निलो युवा तारा पनि देखिएका छन् । जो एकआपसमा एकले अर्कोलाई बीचबाट काटिरहेको जस्तो देखिन्छ । पहिलो तस्वीर ग्यालेक्सीको एक चौथाइ हिस्साको हो जो व्यवसायिक तथा शौखिन खगोलविदको संयुक्त प्रयासको उपलब्धि हो । यसमा गैर व्यावसायिक टेलिस्कोपबाट प्राप्त अप्टिकल आँकडासमेत सामेल गरिएका छन् । तस्वीर बनाउनमा नासाको पुराना अभियानको आँकडालाई पनि सामेल गरिएको छ ।
सेन्टारस ए ग्यालेक्सीलाई दुर्इ विभिन्न ग्यालेक्सीको ठक्करको परिणाम मानिन्छ जसकारण यसले यो अनौठो आकृति प्राप्त भएको हो । ग्यालेक्सीको केन्द्रको नजिक रहेका खगोलीय अवशेष लगातार ब्ल्याकहोलको मुखमा गइरहेका छन् ।
सेन्टारस ए ग्यालेक्सीको केन्द्रमा रहेको महाविशाल बल्याकहोलको द्रव्यमान हाम्रो सूर्यभन्दा अर्वौं गुना बढी रहेको छ। सक्रिय ग्यालेक्सी भएका कारण यसबाट रेडियो, एक्सरे र गामा विकिरणको उत्सर्जन भइरहेको छ । यसका साथै ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होलबाट एक्सरे र रेडियो तरङ्ग जेट उत्सर्जित हुन्छन् । यो एक्सरे जेट हजारौं प्रकाश वर्ष लामो छ भने रेडियो जेट लाखौं प्रकाश वर्ष लामो छ ।


















