थ्री नेसन्स कप फुटबलको उपाधि हात पार्ने दाउमा नेपाल

254

काठमाडौं । आज नेपालले घरेलु मैदानमा बंगलादेशको सामना गर्ने भएको छ भने जसकाेे लक्ष्य हुनेछ, थ्री नेसन्स कप फुटबलको उपाधि जित्ने । तर उपाधि जित्नुभन्दा पहिला अर्को चुनौती छ, गोल गर्नु ।

समूह चरणमा कीर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग खेलेको नेपालले गोल गर्न सकेको छैन । गोल गर्न नसक्नु नेपाली टोलीको अहिलेको मात्र कमजोरी होइन ।

अन्तर्राष्ट्रिय खेलमा गोलको खडेरी झेल्दै आएको नेपालले १८ महिना अगाडि विश्वकप छनोट खेलमा चाइनिज ताइपेईविरुद्ध दुई गोल गरेको थियो । त्यसयता गोल गर्न सकेको छैन । त्यसैले भोलि फाइनल खेल्दा पनि नेपालका लागि पहिलो उद्देश्य विपक्षीको पोष्टमा गोल गर्नु नै हुनेछ ।

‘हामीले सोचे अनुसार खेलिरहेका छौं, तर गोल गर्न सकेका छैनौं,’ आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘भोलिको हाम्रो मुख्य लक्ष्य गोल गर्नु हुनेछ ।’ समूह चरणको दुबै खेलमा एउटै प्लेइङ सेट उतारेका महर्जनले भोलि परिवर्तन गर्ने संकेत पनि दिएका छन् ।

नेपालका कप्तान किरण चेम्जोङले पनि फाइनलमा फरवार्डले पनि राम्रो खेल्ने आशा व्यक्त गरे । गोलकिपर किरणले भने, ‘जुनसुकै कप्तानलाई आफ्नो कप्तानी उपाधि जित्दा सुखी लाग्छ । म पनि आफ्नो कप्तानीमा उपाधि दिलाउन चाहन्छु ।’

बंगलादेशका कप्तान जेम्स डेले घरेलु टोलीविरुद्ध हुने फाइनल प्रतिस्पर्धात्मक हुने बताए । जुनमा हुने विश्वकप छनोट र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा यो प्रतियोगिता खेलेको र फाइनलमा पुग्नु उपलब्धी भएको भन्दै उनले भने, ‘भोलिको फाइनल खेलमा दर्शकको साथ घरेलु टोलीका लागि एड्भान्टेज हुनेछ ।’

किर्गिस्तानविरुद्ध आत्मघाती गोलमार्फत जित हात पारेको बंगलादेशका प्रशिक्षकले पनि उपाधि जित्ने योजना बनाएको सुनाए । फाइनलमा गोल होला त भन्ने प्रश्नमा उनले हाँस्दै पेनाल्टी हुने संकेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here