काठमाडौं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन तयार भएको जानकारी गराएको छ । योसँगै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न भारत भ्रमणमा काठमाडौं जोड्ने गरी नयाँ रेल लाइन निर्माणको विषयले प्रवेश पाउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब प्रधानमन्त्रीको भारत भ्रमणमा रुट, लागत र इन्जिनियरिङसहितको अध्ययन प्रतिवेदनका आधारमा रेलमार्गको निर्माण अघि बढाउन नेपालले प्रस्ताव गर्नेछ । परियोजनालाई अघि बढाउन लगानी मोडालिटी र प्रविधिको विषयमा ठोस सहमति गर्न प्रयास हुने अधिकारीहरु बताउँछन् ।
भारत भ्रमणका समयममा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह हुने र भारत तयार भए उच्चस्तरमै समझदारी समेत हुनसक्ने अधिकारीहरु बताउँछन् । भारत सरकारले काठमाडौंसम्म रेलमार्ग निर्माणको विषयलाई उच्चतम् महत्व दिएको र भौगोलिक हिसावले केही जटिल भएपनि रेलमार्ग निर्माण सम्भाव्य देखिएकाले निर्माण प्रक्रिया सुरु गर्नेबारे कुनै न कुनै समझदारी गर्न जोड दिइएको अधिकारीहरुको भनाइ छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले १३ चैतमा भारतले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताएका थिए । उनी त्यतिबेला भौतिक पूर्वाधार मन्त्री थिए ।
काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गरेको हो ।
भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो । १८ महिनाभित्र यो काम सकाउने लक्ष्य थियो ।
यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो । यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहने र साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको थियो ।
भारतले यो रेलमार्ग ब्रोडगेज प्रविधिमै बनाउने गरी अध्ययन गरेको हो । सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । भारत जोड्ने रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव भएपनि भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल–काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएर त्यसैमा आधारित अध्ययन गरेको हो ।
प्रधानमन्त्रीको भारत भ्रमणले भारतसाग विद्युतीय अन्तरदेशीय रेलमार्ग निर्माणका लागि थप समझदारी बनाउन सहयोग गर्ने अधिकारीहरु बताउँछन् ।


















