‘सिंहदरबार भित्रबाट या बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन । अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने हामीले निर्क्योल लियौं, मैले एउटा संकल्प गरेँ र म कर्णाली प्रदेशमा आएँ’, प्रचण्डले भने।
प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताए । सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहको झण्डासहित उत्रिनुपर्ने र त्यो निकै महँगो पर्ने चेतावनी दिए ।
उनले अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने एजेण्डा ल्याउने भन्दै त्यसबारे केन्द्रीय समितिमा गम्भीर छलफल हुने पनि प्रचण्डले जनाए । लडेर ल्याएको उपलब्धिलाई उल्ट्याउन षड्यन्त्र पटक–पटक दोहोर्याउँदै प्रचण्डले काठमाडौं घेराबन्दीलाई चिर्न श्रमजीवी जनताबाट मात्रै सम्भव भएको पनि जनाए ।
उनले काठमाडौंमा सरकार परिवर्तनका बैठकहरू निरन्तर चलिरहेको भन्दै त्यसलाई छिटो निष्कर्षमा पुर्याइने पनि प्रचण्डले जनाए । ‘भरै काठमाडौंमा महत्वपूर्ण मिटिङ छ । सरकार परिवर्तनका छलफल चलिरहेको छ । त्यसलाई टुंगोमा पुर्याउनुपर्नेछ’ प्रचण्डले आफू हतारमा रहेको बताउँदै सम्बोधनका क्रममा भने ।

















