–चन्द्रप्रकाश बानियाँ
पछिल्लो कालखण्डमा खसजाति र मष्ट धर्म स्थापनाको अभियान सुस्त र मन्द गतिमा चलेको छ । त्यही विषयलाई लिएर एउटा समुदाय विशेष र आफ्नै जातिको बारेमा ज्ञानसून्य रहेका खसहरुकै तर्फबाट विरोधका स्वरहरु उराल्न थालिएको छ । नयाँ संविधान निर्माणको पूर्ववेलामा खस समुदायमा दुई खाले विचारले काम गरेको देखिन्छ । एउटा पक्षले क्षत्री सबैलाई सगोलमा संगठित गर्ने र अर्को पक्षले खस क्षत्रीहरुको मात्र संगठन निर्माण गर्ने प्रयत्न थाले थिए । संविधानमा खस शब्द छिराउने कुरामा दुबैथरी एक मत रहे पनि संगठनको मामलामा फरक मान्यता रहेको देखिन्छ । विचारका दृष्टिले क्षत्रीहरुको सगोल संगठन संविधानमा खस–आर्यको वर्णशंकर जातिको परिभाषा परेपछि थान्किएको छ । अर्थात उसको अभीष्ट पूरा भएको छ । तर खस क्षत्री भनेर संगठन चलाउने पक्ष भने संविधानको परिभाषासँग सन्तुष्ट छैन र आर्यबाट खसलाई अलग गर्नुपर्ने मागदावीसहित आनदोलनरत छ ।
खस जातिभित्र क्षत्रीइतरका अरु जातजाति पर्छन कि पर्दैनन् भन्ने प्रश्न आफ्नो ठाउँमा छ । क्षत्री भनिने खसहरु मात्र खस हुन त भन्ने अर्को प्रश्न पनि उठ्छ । क्षत्री भनिनेहरुले मात्र आफूलाई खस भन्न मिल्छ ? भन्ने प्रश्न उठ्नु पनि स्वभाविक हो । यहीँनेर बुझ्नुपर्ने कुरा के हो भने नेपालको एउटा पहाडी जाति जसले यतिखेर आफूलाई खस क्षत्री भन्दछ त्यो जातिका हिसाबले खस हो र उसलाई हिन्दू धर्मले दिएको जात वा वर्ण क्षत्री हो । जनै धारण गरेर हिन्दू बनेपछि पाएको जात हो –क्षत्री । जातिका हिसाबले उ खस हो । क्षत्रीभित्र भारत पितृभूमि भएका तराईका वैदिक क्षत्री (राजपूत) पनि पर्दछन् । अर्थात क्षत्री अन्तर्गत खस क्षत्री र वैदिक क्षत्री दुबै समावेश छन् । वैदिक आर्य र खसहरु एउटै जातिका मानिस होइनन् । उनीहरुको सम्बन्ध हिन्दू धर्मले गाँसिदिएको हो । त्यसैले क्षत्री मात्र भन्नाले वैदिक र खस दुबैलाई मानिए पनि जातिगत हिसाबले ती दुबै फरक कित्ताका हुन् । त्यस अर्थंमा “खस क्षत्री” भन्ने पदावलीको प्रयोग असान्दर्भिक थिएन ।
जाति र धर्म फरक विषय हो । जुनसुकै जातिको मानिसले जुनसुकै धर्म संस्कृति अवलम्वन गर्न स्वतन्त्र रहन्छ । निश्चित जातिविशेषको निश्चित धर्म हुन्छ भन्नु गलत हुन्छ । धर्म स्वेच्छिक विषय हो भने जाति जन्म र वंशसँग सम्बन्धित हुन्छ । त्यसैले कालक्रममा खसहरु हिन्दू धर्मबाट दीक्षित हुन गएको कुरालाई अन्यथा अर्थमा बुझ्नु हुदैन । जसरी खसहरु हिन्दू भए त्यसैगरी अन्य जाति समुदायले पनि हिन्दू धर्म ग्रहण गर्न सक्तछ । धर्मभन्दा जाति विशेष महत्वको विषय हो । धर्म स्वेच्छाले लिन वा परित्याग गर्न सकिन्छ । जात पनि छोड्न मिल्ने कुरा हो तर जाति परिवर्तन हुन सक्तैन । त्यसैले पनि खसहरुको जातिको पृथक पहिचानको खोजीलाई गलत भन्न मिल्दैन ।
खस जाति, खस भाषा, खस धर्म, खस एकता, खस आन्दोलन, खस एकाधिकार, खस अहङ्कार, खस–आर्य, आर्य–खस आदि शब्दावलीहरु यतिबेला नेपाली समाजमा निकै प्रचलनमा आउन थालेका छन् । “उमेरपुग्दा लाटीमा पनि बैंस चढ्छ” भनेजस्तो कुनैबेला क्षत्रीहरुलाई बाहुनबाट खसेको भनेर हेप्ने अर्थमा प्रयोग हुने गरेको “खस”को पनि लोकप्रिय बन्ने दिन आएको छ । आफूलाई “झर्रा क्षत्री”को कोटीमा राख्न रुचाउने क्षत्रीहरु मात्र होइन, ठकुरी, राणाहरु लगायत हिजोसम्म आफूलाई वैदिक ब्राह्मण भन्न रुचाउने पूर्वीया र कुमाई भनेर चिनिने पहाडी ब्राह्मणहरु खस जातिको लहरमा उभिन जमजमाइरहेका देखिन्छन् । तर स्वयम तेह्रौं शताब्दीपछि मात्र क्षत्री भनिएका खसहरु भने आफ्नो जातिवंश विशुद्ध खस हो भन्न हिचकिचाउँदै छन् भन्नु बढी हुदैन । नजानेर नबुझेर आफूलाई शुद्ध क्षत्री भन्नु एउटा कुरा हो, जानीबुझिकन पनि वैदिक क्षत्रीवंशको पुच्छर समात्न नछोड्नु नादानी हो । खस समाजमा त्यस किसिमको भ्रम सिर्जना गर्नमा क्षत्री संगठनहरुको पनि उत्तिकै हात रहेको छ ।
नेपालमा बाइसी चौबीसी राज्यहरु जन्मनुपूर्व अहिलेको नेपालभन्दा झण्डै तीनगुणा ठूलो क्षेत्रफल ओगटेको खस साम्राज्य अस्तित्वमा थियो भन्ने कुरा इतिहासिद्ध भएर पनि खसजातिको भरपर्दो लिखित ऐतिहासिक दस्तावेजहरुको अभाव रहेको छ । खस साम्राज्यको अस्तित्व थियो । त्यसको विघटनपछि कर्णाली क्षेत्रमा बाइसी र मगरात भनेर परिचित गण्डकी क्षेत्रमा चौबीसी राज्यहरु बनेका थिए र ती राज्यहरु मूलतः खस राज्यहरु नै थिए । पृथ्वीनारायण शाहले बाइसी चौबीसी राज्यहरु एकीकरण गरेका हुन् भन्ने भ्रम पनि नेपालीहरुमा रहेको देखिन्छ । वस्तुसत्य त्यो भन्दा विलकुल भिन्न हो । रणबहादुर शाहको नायवको रुपमा राजेन्द्रलक्षीको शासनकालमा तनहुँ, पाल्पा, पैयुँ र सतहुँ राज्य डोलाइएको थियो । पछि पाल्पा स्वतन्त्र भयो । बहादुर शाहले नायवी सम्हालेपछि स्वतन्त्र भएको पाल्पासहित बाइसी चौबीसी राज्यहरुमाथि गोर्खाले विजय प्राप्त गरेको हो ।
पृथ्वीनारायण शाहको एउटा लेखोटमा उनको सेनामा ब्राह्मण, खस, गुरुङ र मगरहरु संलग्न रहेको कुरा खुलेको छ । अर्को एउटा लेखोटमा ठकुरीको पनि उल्लेख छ । क्षत्रीको कहीँकतै नामोनिशान छैन । गोर्खाली सेनामा क्षत्रीहरु संलग्न थिएनन् भन्ने कुरा सत्य हो । त्यतिबेलासम्म क्षत्री भन्ने जातवर्ण वैदिक समाजमा मात्रै थियो र नेपालमा अर्थात हिमालयको काखको पहाडमा उनीहरुको उपस्थिति थिएन । तेह्रौं शताब्दीको मध्येतिर खसराजा गगनीराजले आफ्ना रैती प्रजाहरुबीच जनै वितरण गरेको कुराको इतिहास प्रमाण लाग्दछ । अर्थात खसहरुले तेह्रौ शताब्दीमै जनै धारण गरे पनि क्षत्रीको हैसियत प्राप्त गरेका थिएनन् । खसहरुले हिन्दू धर्म ग्रहण गरे पनि उनीहरुको हैसियत वैदिक वैश्य समान मात्र थियो । जङ्गबहादुर कुँवरले राणा थर ग्रहण गरेर दरबारसँग सोलीडोली चलाउने सन्दर्भमा आफूसमेत सबै जनैधारी खसलाई “अब उप्रान्त क्षत्री भन्नु” भन्ने सार्वजनिक उर्दी जारी गरेपछि खसहरुलाई क्षत्री भन्न थालिएको हो ।
राणावंशको जात उक्लनुपर्ने वाध्यताको कारणले नेपालको खस समुदायले आफूलाई आर्यवंशी क्षत्री भनाउन थालेको हो । जनै लगाउन नरुचाएका पावइ खसहरु पनि स्वभावतः क्षत्री भनिए । यसरी सिंगो खस जातिलाई क्षत्री बनाउने जङ्गबहादुर हुन् । खसहरु क्षत्रीमा रुपान्तरण भएपछि ब्राह्मणका अन्य जातिका छोरीतिरबाट जन्मेका सन्तानलाई खत्री (खसेको) वा खस भन्न थालियो । क्षत्री बनेका खसहरुलाई होच्याउने, गिज्याउने वा हियाउने अर्थमा खत्रीजस्तै वा खस र खसेटाको प्रयोग हुन थालेको हो । तराईका सिंह, राजपूत, राय आदिबाहेक पहाडी मूलका सबै क्षत्रीहरु खस नै हुन् ।
पछिल्लो कालखण्डमा नेपालका जनजाति समुदायलाई “आदिवासी जनजाति” को कानुनी मान्यता प्राप्त भयो । उनीहरुले राज्यबाट जातिगत सहुलियत पाउन थालेपछि खस समुदायमा आफ्नो वास्तविक जातिनश्लको खोजी गर्ने चेत पलाएको छ । आफूलाई वैदिक आर्य भनाउने इतिहासमा गरिएको मूर्खतापूर्ण गल्तीले आप्रवासी ठहरिनुपर्ने हिनताबोधले उनीहरु समक्ष आफैले चिहानमा पुरिसकेको “खस जाति”को कङ्काल उधिन्नुपर्ने विडम्बना उपस्थित भएको छ ।
कुनै टटपुँजीयाले आफूलाई “धनपति” को नामबाट सम्बोधन गरेको रुचाउँछ भने उसको बहुलट्ठीमा कसैले प्रश्न उठाउने वा “तँ धनवान् हुन सक्तैनस्” भनेर दुत्कार्नुको कुनै अर्थ नरहेजस्तै कसैले आफूलाई अमुक वंश वा जातिविशेषसँग जोड्न रुचाउँछ भने त्यसमा अरु कसैको कुनै सरोकार रहने कुरा त हुँदैन तापनि तथ्यले नेपालका पहाडी क्षत्रीहरु खस हुन् भन्ने कुरा ऐतिहासिक सत्य हो । पहाडी दलित र दशनामीहरुलाई भाषा र संस्कृतिले खस समुदायकै हुन् भन्ने संकेत गर्छ । यहीनेर बिर्सन नहुने कुरा के रहन्छ भने आजको जमानामा जाति, भाषा र संस्कृतिको आधारमा जाति नश्ल छुट्याउन खोज्नु गलत हुन्छ । सत्य तथ्य जान्नका लागि जैविक परीक्षण गर्नु राम्रो हो भन्नै पर्छ ।
हालसम्मको नृतत्वशास्त्रीय मान्यताले मानवजातिको उद्गमस्थल अफ्रिका महादेशलाई मानेको छ । त्यसअर्थमा सिंगो मानव समुदायको पुर्खा एउटै रहेको प्रमाणित हुन जान्छ तापनि यतिबेला संसारभर छरिएर रहेको मानव समुदायलाई नश्लका आधारमा चार कित्तामा बाँडिएको छ । त्यो नश्लीय विभाजनले नेपालको पहाडी खस समुदाय पनि “ककेसियन” भित्र नै पर्दछ । ककेसस र आर्य भन्नु एउटै कुरा होइन । त्यसअर्थले नेपालको खस समुदायलाई आर्यवंशी भन्नु उचित ठहर्दैन । वैदिक सभ्यताको विकाससँग खस जातिको सम्बन्ध साइनो छैन । वैदिक आर्य समाजमा विकसित भएको धर्म, संस्कार र वर्णव्यवस्थाको अनुकरण गर्नुपूर्व खस जातिमा जातिविभाजन थिएन र ककेसिया, बेबिलोनिया, बाल्हिक, गुँगे पुराङ, काशमीर, कुमाउ, गढवाल हुँदै सिंजा छिरेको खस मुदाय तत्तत् क्षेत्रमा बसोबासगर्दै आएका अनेकन आदिवासी जातिसमूहहरुसंग अन्तर्घुलित हुँदै आएको कुरा भने सत्य हो ।
विद्वान अनुसन्धाताहरुको मान्यतानुसार खसजातिको भारतवर्षमा भएको प्रवेश वैदिक आर्यवंशभन्दा झण्डै एक हजारवर्ष पछिको मानिन्छ । तर खस साम्राज्य स्थापना हुनुपूर्व पनि यस क्षेत्रमा खसहरुको बसोबास रहेको थियो भन्ने कुरालाई पुष्टि गर्ने अनेकौं आधार प्रमाणहरु फेला पर्छन् । त्यस्तो मान्यतालाई निर्विवाद मानिदैन । जतिबेला वैदिक आर्यहरु सिन्धुघाँटीबाट छिरेर वेद पुराणादि ग्रन्थहरुको रचना गर्दैथिए त्यतिबेलासम्म खसवंश इराकको बेबिलोनीयामा राज्य जमाएर बसेको थियो । इशापूर्व ११५५ तिर “एलम” भनिने जातिले कस (खस) जातिको राज्य नष्ट गरिदिएपछि उनीहरु पुर्वतर्फ खेदिए ।
अन्दाजी १७००–११५५ इ.पू. सम्मको साढे पाँच शताब्दी लामो राज्यशासनको समाप्तिपछि खस जातिले काबुल, कन्दाहार र हिन्दुकुश पर्वतीय क्षेत्र विजय गरी “इरानी साम्राज्य” खडा गरेको देखिन्छ । खसहरुको बसोबास रहेको इरानको पश्चिमी प्रदेशलाई अहिलेसम्म पनि खसिस्तान भनिन्छ । अफगानिस्तानमा खसमरुभूमि र खसनदी रहेका छन् । अफगानिस्तानको उत्तरी प्रदेशलाई बडाखसान भनिदै छ । खसहरुसँग बाल्हिक प्रदेशको नाता पनि गहिरो छ । अफगानिस्तान र पाकिस्तानको उत्तर तथा कस्मीरको पश्चिममा पर्ने दुर्गम इलाकालाई बाल्हिक प्रदेश भनिन्थ्यो । वाल्हिक भाषा खसभाषाको जननी मानिन्छ । भरतनाट्यम् भन्ने प्रशिद्ध संस्कृत ग्रन्थमा खसहरुको भाषा बाल्हिक थियो भनेर स्पष्टसँग लेखिएको छ ।
वाल्हिक प्रदेशबाट पूर्वतिर लागेको खसजाति हिमालयको काखैकाख हुँदै नेपाल (सिँजा) छिरेको हो र खसजातिको वैदिक आर्यसँग कुनै आनुवंशिक सम्बन्ध थिएन । आर्य ग्रन्थहरुले त खस जातिलाई अनार्य नै हुन् भनेर ठोकुवा गरेका छन् । स्कन्दपुराणमा अन्ध, हुण, किराँत लगायत खस जातिलाई पापी गर्भाशयबाट उन्पन्न हीन मनुस्य भनिएको छ । बृहतसंहिता तथा वायुपुराणमा पनि खसहरुलाई शक, यवन, आभिर, दरद आदि जातिसँग समान मानिएको छ । मनुस्मृतिले त अझ अघि बढेर हिन्दू संस्कार ग्रहण नगरेका कारण शुद्रभावमा परिणत भएका पौण्ड्रक, द्रविड, यवन, शक, चीन, किराँत लगायत खसहरु व्रात्य वा वृषल हुन् भनिएको छ ।
आर्य ग्रन्थहरुका विविध प्रमाणहरुले वैदिक आर्य र नेपालका खसहरु समान जातिवंशका थिएनन् भनेर प्रमाणित गरिदिन्छन् । वैदिक आर्यवंशसँग खसहरुको रक्त सम्बन्ध थिएन । आर्य र खसबीच विहावारी चल्दैनथ्यो । भारतबाट माथि उक्लेका आर्यहरुलाई कुटुम्वको खाँचो परेपनि खस महिलातिरबाट जन्मेका आर्यपुत्रहरुलाई तल्लो जात मानियो । खत्री बनाइयो र खसहरुसँग विहेबारी चलाइएको हो । आर्यहरु सिन्धुनदी तरेर गंगाको मैदानसम्म आइपुग्दा वैदिक सभ्यताको विकास गरेका हुन् । हिमालयको काखैकाख विस्तारित हुँदै आएको खसजातिले हिमालयको काखमा खस सभ्यताको विकास गरेको भएपनि कालान्तरमा वैदिक सभ्यताबाट प्रभावित भयो, वैदिक धर्म संस्कार ग्रहण ग¥यो र हिन्दू बन्यो । हिन्दू धर्म संस्कार ग्रहण गर्नुपूर्व खसजातिले बौद्धधर्म मान्न थालेको देखिन्छ ।
खस एउटा जाति हो, समुदाय होइन । यतिबेलासम्म क्षत्री भनिने पहाडी खस जातिलाई वैदिक ग्रन्थहरुले सगोलमा अनार्य, असभ्य, व्रात्य, बृषल, संसकारहीन, अधर्मी आदि भनेर मानेको देखिन्छ । वैदिक अर्या समाजबाट हेपिएकै हुनाले खस जातिका अलि टाँठाबाठाहरुले जनै ग्रहण गरेर आफूलाई क्षत्री, ठकुरी भनाउन थालेका हुन् । तत्कालीन खस प्रदेशमा बस्ने खसहरुले बाह्रौं तेह्रौं शताब्दीतिर हिन्दू धर्म संस्कार स्वीकारेर आफ्नो जात उकालेका हुन् । नेपालको खस समुदायको वैदिक आर्यवंशसँग रगतको साइनो छैन । अर्थात खस एउटा अवैदिक र अलग जाति हो ।


















