हुँदा–हुँदा अब जनावरको पनि सुन्दरता प्रतियोगिता हुन थालेको छ । त्यो पनि ३ अर्ब रुपैयाँभन्दा बढी पुरस्कार राशीका साथ । यस्तो प्रतियोगीता साउदीअरबमा आयोजना हुन लागेको हो । यसै महिना रियादमा हुने किङ अब्दुल्लाह उँट महोत्सवमा तीन लाख उँट सहभागी हुने जनाइएको छ ।
मापदण्ड ‘अछुतो प्राकृतिक सुन्दरता’का लागि प्रतिस्पर्धी उँटहरुले कडा खालका मापदण्ड पूरा गरेको हुनैपर्छ । घुम्रिएको कपाल, भुवादार कान, लामा परेला तथा अग्लो र ठीक ठाउँमा रहेको जुरोलाई सुन्दरताको मापदण्ड बनाइएको छ । संसारकै सबैभन्दा सुन्दर घोषित उँटलाई ताजसहित २ करोड ५० लाख पाउन्ड (करिब तीन अर्ब २८ करोड रुपैयाँ) पुरस्कार दिइनेछ ।
महोत्सवका प्रवक्ता डा.तलाल अल तोरिफीले भने, ‘मूल्यांकनकर्ताहरुले अहिले उँटहरुको अछुतो प्राकृतिक सुन्दरतालाई विश्लेषण गरिरहेका छन् ।
उँटहरुलाई उनीहरुको रंग र नश्लअनुसार पाँच श्रेणीमा वर्गिकरण गरिएको छ । यीनै श्रेणीका आधारमा उपयुक्त मापदण्ड प्रयोग गरेर सुन्दर उँट छनोट गरिनेछ । यी मापदण्डमा उँटको टाउको, ओठले दाँत छोप्छ कि छोप्दैन, घाँटीको लम्बाइ र जुरोको गोलाई लगायत छन् । यसैगरी अन्य मापदण्डमा आँखाको आकार कस्तो छ, परेलाको लम्बाई कति छ, नाक कसरी घुमेको छ, कानहरु पछाडि फर्केका छन् कि छैनन्, जुरो कहाँनेर कसरी अवस्थित छ, लगायत रहेका छन् ।

















