काठमाडौँ/राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण एक साताभित्रै सुरु हुने भएको छ । करिब दुई साताको प्राविधिक परीक्षणपछि ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादन परीक्षण सुरु हुने आयोजनाले जनाएको छ ।
४५६ मेगावाट कुल क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान गरी आयोजना निर्माणको गतिलाई तिव्र पारिएको थियो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आइतबार वा ढिलोमा आगामी बुधबारदेखि सुरुङमा पानी भरेर सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण सुरु गर्ने तयारी रहेको जानकारी दिए ।
पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएलगत्तै प्रत्येक महिना प्रत्येक युनिटबाट विद्युत् उत्पादन गर्दै जाने आयोजनाको तयारी छ । ‘पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ युनिट छन् । प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मुख्य सुरुङबाट टर्बाइनसम्म आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको डिजाइन संशोधन गरिएको थियो ।
आयोजनामा भइरहेको ढिलाइप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उच्च चासो दिने गरेका छन् । प्रधानमन्त्री ओलीले वैशाख २ मा एक सार्वजनिक कार्यक्रममै माथिल्लो तामाकोसीमा भइरहेको ढिलाइ अस्वाभाविक भएको टिप्पणी गरेका थिए । ढिलाइकै कारण प्रतिदिन प्रत्यक्ष रुपमा ५ करोड रुपैयाँ घाटा भइरहेको भन्दै उनले अब पनि आयोजनामा ढिलाइ भए अमान्य हुने धारणा राखेका थिए । ‘अत्यन्तै अस्वाभाविक ढंगले माथिल्लो तामाकोसीको काममा ढिलासुस्ती भइरहेको छ,’ प्रधानमन्त्रीको टिप्पणी थियो, ‘यस्तो ढिलासुस्ती अब मान्य हुँदैन ।’ केही महिनायता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्माण कार्यलाई गति दिन आयोजना व्यवस्थापनलाई ताकेता गरिरहेको छ ।
आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी ‘टेक्सम्याको’ ले पाएको थियो । तर कम्पनीले समयमै एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्न नसक्दा आयोजना निर्माण सम्पन्न हुने मिति पर धकेलिएको भन्दै आयोजना व्यवस्थापनले डिजाइन संशोधन गरी काम अघि बढाएको हो । डिजाइन संशोधन नगर्दा आयोजना निर्माण मिति कम्तीमा ६ महिनापछि धकेलिने भएपछि परामर्शदाता कम्पनीको सल्लाहमा आयोजना व्यवस्थापनले एक्सपान्सन ज्वाइन्टको डिजाइन संशोधन गरेको हो ।


















