‘एनआईबिएल समृद्धि फण्ड २’ सञ्चालन गर्न अनुमति नेपाल इन्भेष्टमेन्ट बैंकले पायो

182

काठमाडौँ/नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ‘एनआईबिएल म्युचुअल फण्ड’नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आइरहेको छ।

‘एन आई बिएल म्युचुअल फण्ड’को पहिलो योजना ‘एनआईबिएल समृद्धि फण्ड १’ सफलतापूर्वक संचालन गर्दै यस योजनाका इकाई धनीहरुलाई हालसम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक बर्षमा यस योजनाको ७ बर्ष अवधि पूरा भइ योजना बन्द हुने जनाइएको छ।

पहिलो योजनाको उत्कृष्ट प्रतिफल साथै आम लगानी कर्ताहरुको विश्वासलाई निरन्तरता दिने उदेश्यका साथ बैंकले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत संचालन हुने चौथो योजनाको रुपमा ‘एनआईबिएल समृद्धि फण्ड २’ नामको बन्दमुखी योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ।

यस योजनाको आकार रु. १ अर्ब २० करोड (एक अर्ब बिस करोड रुपैँया) र यस योजना १० वर्षको अवधिसम्म संचालनमा रहने छ।

प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रवर्द्धनका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिने जनाइएको छ।

यस योजनाको अवधिभर सामुहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ र सो लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरीने यस योजनाको उदेश्य रहेको र प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाई धनीहरुलाई दिनसक्ने प्रक्षेपण गरीएको छ।

साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भइ योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ।

यस योजना मिति २०७८/०१/१३ देखि छिटोमा २०७८/०१/१६ र ढिलोमा २०७८/०१/२७ गतेसम्म इकाई बिक्री खुला हुने र इच्छुक लगानीकर्ताहरुले (व्यक्तितथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १२ करोडसम्म लगानीका लागी आफ्नो सी–आश्वाखाता रहेको बैंक वा मेरो शेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सक्ने जनाइएको छ।

विवरण पुस्तिका प्राप्त गर्न नेपाल इन्भेष्टमेण्ट बैंक लि. तोकिएको शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लि.को लाजिम्पाट, काठमाण्डौँस्थित प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here