अन्तर्राष्ट्रिय सीमा र विद्यालय बन्द गरिने

176

काठमाडौं/ कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्‌ बैठकमा सहभागी एक मन्त्रीले देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए। तर, विद्यालयहरु कहिलेदेखि बन्द हुनेछन् भन्ने विषय भने सरकारका प्रवक्ताले आधिकारिक रुपमा सार्वजनिक गर्ने ती मन्त्रीको भनाइ छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले सक्रिय संक्रमित २०० पुगेको अवस्थामा पहाडी जिल्ला र ५०० पुगे तराईं–मधेस तथा उपत्यकाका जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने निर्णय समेत गरेको छ।
यस्तै, कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाउने निर्णय समेत मन्त्रिपरिषद्‌को बैठकले गरेको छ।
मन्त्रिपरिषद्‌को बैठकको निर्णयानुसार वैशाख १६ गतेदेखि नेपाल–भारत सीमा नाकाबाट हुने आवतजावतमा पूर्ण रोक लगाइने छ।
सीमा नाकाबाट हुने आवत–जावतमा रोक लगाइए पनि नाका भएर हुने आयात तथा निर्यात र त्यससँग सम्बन्धित काम–कारबाही भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर जारी रहने जनाइएको छ।
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानबाट आएका नेपालीले अनिवार्य होम क्वारेन्टिन र विदेशी नागरिकले १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय समेत गरेको छ।
सरकारले आन्तरिक हवाई उडान भने तत्काल बन्द नगर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here