भेरी अस्पतालका काेभिड १९ संक्रमित अक्सिजनको भरमा मृत्युसँग लडाइँ

76

बाँके । भेरी अस्पतालको कोभिड वार्डमा एकजना महिला छट्पटाइरहेकी छन्। उनको मुखमा अक्सिजन लगाइएको छ र पनि उनलाई अप्ठ्यारो भइरहेको सहजै अनुमान लगाउन सकिन्छ। महिलाको रेखदेख गर्न बसेका (कुरुवा) पुरुषले बेला–बेलामा ढाडस दिइरहेका छन्, ‘मनोबल उच्च बनाऊ तिमीलाई केही हुँदैन हरेस नखाऊ।’ ती महिलालाई कोरोना संक्रमणले बेस्सरी च्यापेको जस्तो देखिन्छ।

सोही वार्डमा भर्ना भएका अन्दाजी ५५ वर्षका पुरुषको अवस्था झन् गम्भीर देखिन्छ। उनको रेखदेख गर्न परिवारका तीनजना खटिएका छन्। उनीहरूले संक्रमितलाई बचाउन हरसम्भव प्रयास गरिरहेका छन्। ‘बाबालाई बचाऊ भगवान्।।बचाऊ,’ नजिकै उभिएकी छोरीको सानो आवाज सुनिन्छ।

कोभिड वार्डकै एकजना युवक कोरोना भाइरससँग अन्तिम लडाइँ लडिरहेका छन्। कोरोना संक्रमण भएपछि यही वैशाख ९ गतेबाट छोरालाई अस्पताल भर्ना गरेका बाबु कहिले छोराको मुखमा हेरेर रुन्छन्, कहिले भगवान् पुकार्छन्। ‘छोरालाई निको गराएर घर फर्काउने मन छ तर कोरोनाले झन्झन् च्याप्दै लगेको छ,’ उनले  भने।

भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्। संक्रमितको तुलनामा निकै कम स्वास्थ्यकर्मी खटिएका छन् र पनि सक्दो सेवा गरिरहेकै छन्।

कोभिड वार्डको १२ नम्बर बेडमा छिन् अन्दाजी ७६ वर्षीया महिला। बुधबार साढे ५ बजेतिर नागरिककर्मी स्थलगत रिपोर्टिङमा पुग्दा उनका आफन्त त्यहाँ थिएनन्। कहिले बेडमा सुत्थिन्, कहिले उठेर सुस्केरा हाल्थिन्। कोही नजिक आउँदा उनी भन्थिन्, ‘छाती पोल्यो, औडाहा भयो।’ भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here