काठमाडौं /दुई जना संविधान सभा सदस्यको निधन भएको छ। एक जनाको लडेर तथा अर्काको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो। नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति तथा संविधान सभा सदस्य शिवबहादुर खड्काको आइतबार उपचारका क्रममा भक्तपुरमा आइतबार बिहान निधन भएको हो।
अर्का संविधान सभा सदस्य रबनी चौधरीको कोरोना संक्रमणबाट निधन भएको छ। घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पश्चिम रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन्। पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए। २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भइ पाँच वर्ष काम गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।
बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो। पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गरेका थिए। खड्काको आइतबार नै पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने परिवारजनले जनाएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरीको धनगढीको नवजीवन अस्पतालमा उपचारका क्रममा केहीबेर अघि निधन भएको हो। कलेजो र मृगौलाको समस्याले ग्रसित चौधरी शनिबार अस्पताल भर्ना भएकी थिइन्। उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो।
अस्पतालमा उपचाररत चौधरीको आइतबार एक्कासी स्वास्थ्यमा समस्या आइ ज्यान गएको उपचारमा संलग्न चिकित्सकले जनाए। कमैया मुक्तिको आन्दोलनमा चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन्।


















