लाजनीति (कविता)

216

-तीर्थराज जोशी
न पैसा कमाएँ न गुण्डा बनाएँ ।
न हिंसा चलाएर शान्ति मनाएँ ।।
न पाटी उधारेँ न बाटो बिगारेँ ।
न धोका दिएरै कतै घात पारेँ ।।

न नेताहरुको बनेको छु झोले ।
न सिद्धान्त घोकी मीठा बात घोलेँ ।।
न झण्डा उचालेर ढुङ्गा उठाएँ ।
न कोही कसैलाई मैले कुटाएँ ।।

न मिठा मिठा शब्दमा झुट बोलेँ ।
न कोही बटुली कुनै ग्याङ खोलेँ ।।
न केही गरेको कतै हूल दङ्गा ।
न छन् साथ हिँड्ने यहाँ क्वै लफङ्गा ।।

न ढुङ्गा उचाली बनेँ क्रान्तिकारी ।
न चर्चा कमाएँ समाजै बिगारी ।।
तिमी भन्दछौ है गरौँ राजनीति ।
यहाँ बुझ्छ कसले र यो लाजनीति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here