थिमिको सिन्दुर जात्राभव्य रुपमा सम्पन्न

312

मध्यपुरथिमि/ बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोलटोलबाट विभिन्न देवताहरूको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा रहेको छ। यस जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू भएको थियो।

जात्रा सुरू भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइने चलन रहेको छ । त्यसैगरी विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ।

थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७ र टिगनीमा एक स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ। यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइने परम्परा रहेको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सुथः सिया जात्रा मनाइने परम्परा छ। जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here