एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित

79

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

वर्तमान अध्यक्ष समेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

मङ्गलवार राती सार्वजनिक भएको मतगणना नतिजा अनुसार कँडेलले ४ सय ७९   मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी रिजालले ४७७ मत पाए । त्यसैगरी अन्य पदाधिकारीहरूमा भने मिश्रित परिणाम आएको छ ।

उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए ।

पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगर ४ सय १८ मत पाएर विजयी भए । उनका प्रतिद्वन्द्वी बाँकेका दुर्गाप्रसाद थारुले ३ सय ९३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लीला राना मगर ३ सय ५२ मत ल्याएर विजयी भए । उनकी प्रतिद्वन्द्वी बाँकेकी बसन्ती अधिकारीले ३५१ मत पाइन् ।

सचिव पदमा कँडेलकै समूहका लक्ष्मण आचार्य सोमबार नै निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मङ्गलवार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।

यो निर्वाचनपछि लुम्बिनी प्रदेशमा स्पष्ट दुई गुट देखिएको छ । अध्यक्षमा निर्वाचित कँडेल एमाले केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने पराजित रिजाल महासचिव शंकर पोखरेल नजिक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here