आकाशमा चङ्गा उडेको देख्न मुस्किल

175

काठमाडौं । केही वर्ष अघिसम्म दशैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दशँै सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ ।

बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएको छ । बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको संस्कृतविद्् गणेशराम लाछी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “इन्द्रजात्रा सके लगत्तै चङ्गा उडाउँथ्यौँ तर अहिलेको बालबालिकादेखि युवापुस्ता मोबाइलमै झुन्डिएको देख्दा यो इतिहास बन्ने जस्तो लाग्छ, अब केही वर्षमा चङ्गा र लट्टाई सङ्ग्रहालयमा ९म्युजियम० हेर्न जानुपर्छ ।”
असनमा विगत ४१ वर्षदेखि चङ्गा पसल व्यापार गर्दै आउनुभएको अनिल श्रेष्ठले पाँच÷छ वर्ष वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री गरेको अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले भने त्यस्तो छैन । चाररपाँच लाखको बिक्री हुन पनि मुस्किल हुन्छ ।”

कागज, प्लास्टिक तथा कपडाको चङ्गा रहेको सो पसलमा भारत र चीनबाट सामान आउने जानकारी दिनुभयो । लट्टाई भने नेपालकै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरैजसो प्लास्टिकको चङ्गा रुचाइन थालेको छ, किनभने यो पानी परेको बेलामा पनि उडाउन मिल्छ ।” भक्तपुरमा २५ वर्षदेखि चङ्गा व्यापार गर्दै आउनुभएको सर्मिला राजभण्डारीले पनि चङ्गाको व्यापार पहिलाभन्दा निकै खस्केको बताउनुभयो ।

उहाँले विगतका वर्षमा साउन महिनादेखि भाइटीकासम्म व्यापार हुने चङ्गाको व्यापार हाल करिब ठप्पै भएको गुनासो पोख्नुभयो ।
उहाँ भन्नुहुन्छ, “कुनैबेला दिनमै २०–२५ हजार रुपियाँसम्मको व्यापार पनि गरियो, अहिले एक÷दुई सयको हुन पनि गाह्रो छ ।” गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here