दाङ / दाङमा भारतीय नम्बरप्लेटको एउटा गाडीभित्र ३ जना बालक मृत फेला परेको घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। तीन बालकको शव भेटिएको घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले सुरु गरेको छ । नेपालगञ्जबाट आएको कुकुरसहितको प्रहरीको विशेष टोली घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले जनाए । ‘विशेष टोली आईपुगेपछि मात्रै शवहरु हेरिएको छ ।
शवलाई पोष्टमार्टमको लागि अस्पताल पुर्याइएको छ’ उनले भने, ‘घटनाको सबै पक्षको अनुसन्धानपछि विस्तृत कुराहरु बाहिर ल्याउने छौँ ।’तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीनवटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कार भित्र तीन बालकको शव भेटिएको हो ।
शवको सनाखत गरेर प्रहरीले नाम, ठेगाना सार्वजनिक गरेको छैन । तर, आफन्तका अनुसार कार भित्र भेटिएका शव वैशाख १६ गते हराइरहेका तीन बालकको रहेको छ । तुलसीपुर–६ गाईडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ वर्षीय छोरा करण परियार रहेको आफन्तले जनाएका छन् । सुवर्ण र किरण दाजुभाइका छोरा हुन ।


















