आगामी निर्वाचनपछि परिवर्तनका लागि सडकमा जाने : अध्यक्ष दाहाल

52

काठमाडौं। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि परिवर्तनका लागि सडकमा जाने बताउनुभएको छ।

उहाँले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता जस्ता परिवर्तनलाई उल्ट्याउन खोजिएको भन्नुहुँदै सो कुरा बताउनुभएको हो। यो विषयले आफूलाई सबैभन्दा बढी चिन्तित तुल्याएको भनाइ पनि उहाँले जोड्नुभयो।

अध्यक्ष दाहालले भन्नुभयो, “प्रदेश र सङ्घको निर्वाचनको संघारमा छौँ। अहिले जे प्रहार भइरहेको छ, विभिन्न कोणबाट यो परिवर्तन उल्ट्याउन। पार्टी र नेतृत्वलाई निस्तेज गर्ने जो चलिरहेको छ, चुनावपछि यो परिवर्तन बदल्न म सडकमा जान्छु।”

अब छिट्टै आन्दोलन समेत हुने भन्नुहुँदै उहाँले पार्टी सत्तामा हुँदा कमजोर सडकमा हुँदा सधैँ बलियो भएको तर्क राख्नुभयो। आन्दोलनको नेतृत्व पनि अरूले गर्नुभन्दा पहिले माओवादीले नै गरेर निरन्तरतालाई क्रम भङ्ग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

अध्यक्ष दाहालले विगतमा कम्युनिष्टलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने, समाजवादको ठोस भिजन एवम् श्रम र सांस्कृतिक रूपान्तरणमा नयाँ आन्दोलन सिर्जना गर्ने उद्देश्यका साथ एमालेसँग वाम एकता गरिएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “देशमा राजनीतिक स्थायित्व र समाजवादको लामो यात्रामा जान सकिन्छ। हाम्रा आग्रह, पूर्वाग्रह छोडिदिऊँ, त्यो मैले नै भनेको हो। तपाईंहरुलाई ठिक लाग्छ, लाग्दै त्यो सोध्ने अधिकार हो। तर, सचेत रूपले गरिएको हो।” विगतमा तत्कालीन ओली सरकारले गरेको संसद् विघटन लगायतका सबै घेराबन्दीको नेतृत्व गरेको दाबी उहाँले गर्नुभयो।

उहाँले अहिले विश्वमा समेत राजनीतिक ध्रुवीकरण देखा परेको भन्नुहुँदै आत्मनिर्भर अर्थतन्त्रका निम्ति उत्पादन वृद्धिको हुनुपर्ने भनाइ राख्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here