काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ ।
आज काठमाडौं शाखाका अध्यक्ष शैलेस कुमार डंगोल, सचिव सुजन पाख्रिम, सहसचिव राम मगर र कोषाध्यक्ष रजनी श्रेष्ठले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्ने गरिएको छ । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिज काठमाडौं शाखाको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक भएर काम गरेका थिए । उनकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।
उनकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो ।
२०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति भएका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको प्रति फ़ोनिजले आपत्ति जनाएको छ ।
यस्तो छ ज्ञापनपत्र :




















