काठमाडौ । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिममा रहेका पत्रकारहरुका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।
महासंघले आफ्नै केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरको रुपमा सञ्चालनमा ल्याएको हो ।महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड संक्रमण पुष्टी भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने जनाए ।
‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छौं’, पोखरेलले भने ।
महासंघले होल्डिङ सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्ने सुविधाका साथै स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिदिने छ । होल्डिङ सेन्टर स्थापनाका लागि महासंघलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेको बताउँदै अध्यक्ष पोखरेलले धन्यवाद दिएका छन् ।
अध्यक्ष पोखरेलले भनेका छन्, ‘कोरोना संकटका बेलामा सबैको चासो सुरक्षा सतर्कतामा हुनुपर्दछ । अग्रभागमा खटेर काम गर्ने पत्रकारहरुले यस्तोबेला स्वास्थ्य मापदण्डलाई पालना गर्दै बिशेष सतर्कता अपनाएर काम गर्न जरुरी छ । त्यसका लागि सबैमा म हार्दिक अपिल गर्दछु । पत्रकारहरुलाई समस्या आइहालेमा तत्काल सुरक्षाको प्रबन्धका लागि हामी तयारी अबस्थामा बस्नु पर्ने अवस्था छ । सबै शाखाहरुले यस बिषयमा आवश्यक समन्वय गरि पनि रहेका छन् । कतिपय शाखाले अक्सीजन सहितका ’होल्डिङ सेन्टर’ पनि निर्माण गरेका छन् । केन्द्रीय कार्यालयको आवास गृहलाई पनि त्यही रुपमा विकास गर्ने क्रममा आज केही सहयोग प्राप्त भएको छ । शाखाहरुलाई सहयोग गर्ने तथा केन्द्रीय कार्यालयलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दछु । आज केन्द्रीय कार्यालयलाई ‘हाम्रो टिम’ अभियानले र मेक्सीम इन्टरनेशनल ट्रडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले सहयोग उपलब्ध गराउनु भएको छ । उहाँहरु सहित सबै दाताहरुमा हार्दिक अभार प्रकट गर्दछु ।’
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि दोस्रो लहरको कोरोना भाइरसबाट नराम्ररी प्रभावित हुन पुगेका छन् ।
महासंघमा अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये २५२ जना अहिले सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चिम ३०, उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।
अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरु संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको छ ।
महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको महासचिव रोशन पुरीले जानकारी दिए ।
उनले प्रेस विज्ञप्ती मार्फत भनेका छन्, ‘यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न र आइसोलेसन सेन्टरको व्यवस्थाका लागि सक्रिय सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुलाई अनुरोध गरेको छ । सोका लागि आवश्यक सामग्री जुटाउन पहल गरिने तथा स्थानीयस्तरबाट स्वास्थ्य सामग्री वितरण गर्न गराउने कार्यमा सक्रिय हुन महासंघ आग्रह गर्दछ । ’
महासंघद्धारा जारी विज्ञप्तीमा ‘कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुका साथै कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइएको छ ।



















