काेराेना भाइरससम्बन्धी जागरण शुरू

207

रसुवा । कोभिड – १९ प्रति पूर्वसावधानीको जागरण ल्याउन आजदेखि यहाँ माइकिङ कार्य शुरू भएको छ । सदरमुकाम लगायत टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, कालिकास्थान लगायतका क्षेत्रमा जनचेतना जगाउने कार्य अगाडि बढेको हो ।

बेत्रावतीस्थित फलाखुखोला पुलबाट रसुवा प्रवेश गर्ने यात्रु तथा सवारी चालकलाई स्वास्थ्यको मापदण्ड पूरा गराउन अनुगमन समेत शुरू गरिएको छ । आगमन भएका कुनै व्यक्ति शङ्कास्पद देखिएमा दश दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गराउन स्थानीय निकायलाई आग्रह गरी पूर्वसावधानी अपनाइ सकिएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले जानकारी दिए । तिव्ररूपमा फैलिएको कोरोना सङ्क्रमण रोक्न अनिवार्य मास्क प्रयोग गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्ने जस्ता कार्यलाई तदारुकता साथ कार्यान्वयन गराउन जागरण अभियान शुरू गरिएको छ । शङ्कास्पद व्यक्तिको स्वाव सङ्कलन गरी परिक्षणका लागि तोकिएको अस्पताल सम्म पु–याउन स्थानीय तहलाई जिम्मा दिइएको छ ।

रसुवागढीस्थित सीमा नाकामा हेल्थडेक्स स्थापना एवं स्वास्थ्य जाँचकक्ष स्थापना गरी अनावश्यक मानिसको आावतजावत रोक्ने, रसुवाभन्सार कार्यालयले व्यापारी, व्यवसायी, कामदार एवं कर्मचारीलाई स्वास्थ्य सम्वन्धी मापदण्ड पूर्णरूपमा पालना गराउन कोभिड नियन्त्रण जिल्ला व्यवस्थापन समितिले आग्रह गरेको छ ।
बजारमा हिड्ने मानिसको चाप घटाउन बिहान ७ देखि ९ बजेसम्म र साझ ५ देखि ७ बजेसम्म उपभोग्य वस्तुको पसल खुल्ला गराउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । दोश्रो चरणको कोरोना सङक्रमण फैलिएसँगै सङ्क्रमित ५२ मध्ये एकको निधन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय निकायका अस्पताल तथा प्रयोगशालामा आवश्यक कर्मचारी भर्ना गर्न कोभिड नियन्त्रण जिल्ला व्यवस्थापन समितिको निर्णयबाट कार्य निर्देश गरिसकेको बताइएको छ ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here