लघुबीमा कम्पनी खोल्ने तयारीमा

126

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी खोल्न दिने तयारी थालेको छ । लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गरेपछि त्यस्तो कम्पनी स्थापना गर्न दिने समितिको योजना छ ।

बीमा समितिका एक उच्च अधिकारीले लघुबीमा कम्पनी स्थापना गर्ने दिने विषयमा अध्ययन गर्ने तयारी गरिएको बताए । ‘अहिले बीमा बजारमा ठूला कम्पनी मात्रा सञ्चालनमा छन् । तर, पछिल्लो समय साना बीमा कम्पनीको पनि आवश्यकता महसूस गरिएको छ,’ उनले भने, ‘त्यसैले लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गर्न लागिएको हो ।’ लघुबीमासम्बन्धी अध्ययन गरेर कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

अहिले सञ्चालनमा रहेको बीमा कम्पनीहरू शहरकेन्द्रित रहेका छन् । फलस्वरूप गरीबीका रेखामुनि रहेका र ग्रामीण क्षेत्रका मानिसहरू व्यापक रूपमा बीमाको पहुँचमा आउन सकेका छैनन् । उनीहरूलाई लक्षित गरेर बीमा व्यवसाय गर्नेगरी लघुबीमा स्थापना गर्न दिइने ती अधिकारीको भनाइ छ ।

‘ग्रामीण क्षेत्र र गरीबीका रेखामुनि रहेका जनताहरूलाई लक्षित गरेर लघुबीमा कम्पनी स्थापना गर्न दिन सकिन्छ । तर, अध्ययनले के देखाउँछ, त्यहीअनुसार नै काम गर्ने छौं,’ उनले भने, ‘यसो गर्न सकियो भने बीमा क्षेत्रको थप विकास हुनेछ ।’ लघुबीमा कम्पनी ल्याउन सकेमा बीमाको पहुँच पनि बढ्ने समितिको विश्वास छ । बैैंकिङ क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा ल्याउँदा दूरदराजसम्म पनि वित्तीय पहुँच पुगेको छ ।

त्यसैगरी, बीमाको पहुँच बढाउन पनि लघुबीमा कम्पनीहरू सञ्चालनमा ल्याउन आवश्यक रहेको स्रोतको भनाइ छ । बीमसम्बन्धी प्रचलित कानूनमा लघुबीमा कम्पनीसम्बन्धी कुनै परिकल्पना गरिएको छैन । तर, संसद्मा विचाराधीन प्रस्तावित बीमा ऐनमा भने लघुबीमा कम्पनीसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । प्रस्तावित ऐनमा लघुबीमा मात्र गर्ने प्रयोजनका लागि लघुबीमा कम्पनी स्थापना गर्न सकिने उल्लेख गरिएको छ । लघु जीवन बीमा र लघु निर्जीवन बीमा गर्ने गरि छुट्टाछुट्टै कम्पनी स्थापना गर्न सकिनेगरी बीमा विधेयकमा उल्लेख गरिएको छ । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here