गैँडा चोरी शिकार गरेको आरोपमा २४ जना पक्राउ

114

चितवन । गैँडा चोरी शिकार गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ। पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन्। उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतले २ लाख ५० हजार धरौटीमा छाडिएको अधिकारीले जनाए।

यसअघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएकामध्ये २० जनालाई चालु आर्थिक वर्षमा चार गैँडा मारेको अभियोग लागेको छ।

चालु आर्थिक वर्षमा मारिएका गैँडाका मुद्दामा संलग्न २१ जनामध्ये अदालतले सात जनालाई धरौटी माग गरेको थियो भने अन्यलाई पुर्पक्षका लागि अदालत पठाएको थियो।

पुराना मुद्दामा फरार रहेका तीन जनालाई पनि फैसला कार्यान्वयनका लागि अदालतबाट कारागार पठाइएको उनले जनाए। निकुञ्जमा चालु आवमा प्राकृतिक कारणले २६ र चोरी शिकारीले चार गैँडा मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here