काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले आइतवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्। अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गरी लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकाले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गरेका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ’संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छु।’ यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको बताउँदै उनले कानून निर्माण र संशोधन गर्ने संसदको आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई नै कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने अध्यादेश जारी गर्ने काम भएको जनाए।
‘संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मूल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यलाई आह्वान गर्दछु,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
वर्तमान सरकारले संवैधानिक परिषद्को गरिमालाई नै समाप्त काम गरेको उनको भनाइ छ। यसको कार्य क्षेत्रलाई नै संकुचित गर्ने गरी संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको देउवाको धारणा छ।


















