साल्ट ट्रेडिङले निषेधाज्ञाको समयमा उपभोक्तालाई भ्यानमार्फत खाद्यान्न बिक्री

300

काठमाडाैैं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् । खाद्य कम्पनीले आफ्ना चारवटा बिक्री केन्द्रमार्फत र साल्ट ट्रेडिङले आफ्ना छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गरेका हुन् । खाद्य कम्पनी र साल्ट ट्रेडिङले गत वर्षको बन्दाबन्दी र निषेधाज्ञामा जस्तै आफ्ना बिक्री केन्द्रमार्फत सेवा दिएका हुन् ।

खाद्यबाट ग्यास पनि
खाद्य कम्पनीले सोमबारबाट आफ्ना चारवटा बिक्री केन्द्रबाट ग्यास पनि बिक्री गर्दै छ । बिक्री केन्द्रमा अन्य सामानसँगै ग्यासको माग भएपछि खाद्य कम्पनीले साल्ट ट्रेडिङसँगको सहकार्यमा आफ्ना बिक्री केन्द्रमा ग्यास बिक्री गर्न थालेको हो ।
चामल, कर्णालीको सिमी, घिउ, तेल, पिठो, गेडागुडी, सेनिटाइजरलगायतका सामान बिक्री गर्दै आएको कम्पनीले साल्ट ट्रेडिङसँग मिलेर ग्यास पनि बिक्री गर्न थालेको हो । कम्पनीले थापाथली र नक्खुमा बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म बिक्रीको व्यवस्था गरेको छ भने रामशाह पथ र भक्तपुरको सूर्यविनायकमा बिहान ७ः०० देखि १०ः०० बजेसम्म यी सामान बिक्रीको प्रबन्ध गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिनुभयो ।
उहाँले निषेधाज्ञाको अवधिमा उपत्यकावासी उपभोक्तालाई पर्नसक्ने असुविधालाई ध्यानमा राखेर खाद्य कम्पनीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न आमउपभोक्तालाई आवश्यक पर्ने खाद्यलगायतका सामग्री कम्पनीका बिक्री केन्द्र सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकावासी उपभोक्ताको दैनिक जीवनलाई अझ बढी सहज बनाउन यस कम्पनीले अनलाइनमा अर्डर लिएर पनि उपत्यकाभर निःशुल्क रूपमा उपभोक्ताको घरदैलोमा नै होम डेलिभरी सेवा सञ्चालनमा ल्याएको छ । खाद्य कम्पनीसँग पर्याप्त खाद्यवस्तुको मौज्दात भएकाले आत्तिएर अनावश्यक खाद्यान्न सञ्चित नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

साल्ट ट्रेडिङमा १०ः०० देखि २ः०० बजेसम्म बिक्री
साल्ट ट्रेडिङ कम्पनीले मोबाइल भ्यानमार्फत आफूसँग उपलब्ध भएका खाद्य पदार्थ नुन, चिनी, चामल, तेल, आँटा, दाल तथा गेडागुडी बिक्री गर्दै आएको छ । उपभोक्ताको मागअनुसार साल्ट ट्रेडिङले उपत्यकाका विभिन्न स्थानमा मोबाइल भ्यानमार्फत माइकिङ गरेर खाद्य पदार्थको बिक्री वितरण गर्दै आएको छ ।
साल्ट ट्रेडिङका उपमहानिर्देशक कुमार राजभण्डारीले निषेधाज्ञा भएको दिनदेखि बिहान १०ः०० देखि २ः०० बजेसम्म साल्ट ट्रेडिङका छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत उपभोक्तालाई सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार साल्ट ट्रेडिङका भ्यानले उपभोक्ताको मागका आधारमा काठमाडौँ उपत्यकाका जुनसुकै स्थानमा गएर खाद्यान्नको बिक्री वितरण गर्दै आएको छ ।
साल्ट ट्रेडिङका अनुसार घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, भक्तपुर र बनेपा गरी छ स्थानमा रहेका बिक्री केन्द्रबाट खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ । उपमहानिर्देशक राजभण्डारीले निषेधाज्ञाको समयमा हुने चर्को मूल्य वृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइरहेको जानकारी दिनुभयो ।
साल्ट ट्रेडिङले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै बिक्री काउन्टर खुला गरेको र अन्य समयको जस्तो निषेधाज्ञाको समयमा धेरै सेवाग्राहीको भीड नभएको, सेवाग्राहीलाई दुई मिटरको दूरीमा राखेर खाद्य पदार्थको बिक्री वितरण गर्ने गरेको जनाइएको छ ।
उहाँले भन्नुभयो, “गत वर्षको बन्दाबन्दीमा सबै क्षेत्र बन्द थिए तर यसपालिको निषेधाज्ञामा सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै बिहान ९ः०० बजेसम्म पसल सञ्चालन गर्न दिँदा साल्ट ट्रेडिङमा सेवाग्राहीको भीड छ । ” गाेेेेरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here