काठमाडौं / सुशासनका दृष्टिले यो वर्ष पनि मुलुकमा देखिने गरी प्रगति हासिल नभएको पाइएको छ ।
मुलुक भ्रष्टाचारको सूचाङ्कमा गत वर्षकै तुलनामा यस वर्ष पनि रहेकाले सुशासनमा देखिने गरी प्रगति हासिल नभएको पाइएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज यहाँ ‘भ्रष्टाचार अवधारणा सूचाङ्क’ सार्वजनिक गर्दै नेपाल गत वर्ष जस्तै ३१ अङ्क ल्याएर १८० मुलुकमध्ये १२४ औँ स्थानमा परेर सुशासनमा कुनै प्रगति हासिल नगरेको हो ।
भ्रष्टाचार अवधारणा सूचाङ्कमा मुलुकले गत वर्षझैँ यस वर्ष पनि १०० पूर्णाङ्कमा ३१ अङ्क ल्याएकाले सुशासनमा सुधार नभएको ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले जानकारी दिनुभयो ।
अध्यक्ष रेग्मीले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार राजनीतिक र कर्मचारीतन्त्रमा रहेको जनाउनुभयो । ‘नेपाल निर्वाचन भएर दुई तिहाइको सरकार आएपछि भ्रष्टाचार घटेको छैन’, उहाँले भन्नुभयो, ‘गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार देखिएको छैन, त्यसैले नेपालको अवस्था चिन्ताजनक रहेको छ ।’
नेपालसहित ट्रान्सपरेन्सी इन्टरनेशनलले आज विश्वका १८० देशको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक गर्दैछ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सूचाङ्कमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमलिया र कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क छन् ।
ट्रान्सपरेन्सीसँग आबद्ध विभिन्न सङ्घसंस्थाले गत वर्ष नेपालका विभिन्न क्षेत्रमा भएका कामको अध्ययनको आधारमा उक्त सूचाङ्क निकालेको हो । विश्व बैंकले नेपाल सरकारद्वारा सार्वजनिक क्षेत्रका पदाधिकारीको कामकारवाहीमा निगरानीको स्थिति र नागरिक समाजलाई राज्यका काम कारवाहीको जानकारीमा पहुँच, विश्व आर्थिक मञ्च आयात, निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुस विषयमा र ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, आयात निर्यातमा हुने भ्रष्टाचारमा सर्वेक्षण गरेको छ ।
अध्यक्ष रेग्मीले नेपालमा सरकारले भ्रष्टाचार नियन्त्रण गर्न बनेका निकायका पदाधिकारी र भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून आफू अनुकूल बनाउने गरेकोले भ्रष्टाचारको सूचाङ्क ज्यूँ का त्यूँ भएको बताउनुभयो । ‘अहिले स्थिर सरकार भएकाले भ्रष्टाचार सुधार हुने हामीले अपेक्षा गरेका थियौँ’ उहाँले भन्नुभयो, ‘तर स्थिर सरकार भए पनि जनताको हितमा काम गरेको पाइँनन् ।’
उहाँका अनुसार नेपालमा सबैभन्दा ठूलो भ्रष्टाचार राजनीतिक दलले गर्ने नीतिगत भ्रष्टाचार रहेको छ । सार्वजनिक सेवा प्रवाह हुने भ्रष्टाचारले जनता आङ्तकित भएको अध्यक्ष रेग्मीले जानकारी गराउनुभयो । ट्रान्सपरेन्सीले सन् २००४ देखि नेपालको भ्रष्टाचारको सूचाङ्क सार्वजनिक गर्दै आएको छ ।
‘स्थिर सरकार भए पनि मुलुकमा सुशासन कायम हुने अपेक्षा हुन्छ’, उहाँले भन्नुभयो, ‘तर अहिलेको सरकार स्थिर भए पनि सुशासन कायम गर्न नसक्दा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार भएन ।’


















