भारत–पाक विवादमा नेपालको भूमिका निर्णायक हुनसक्छ

186

– निमकान्त पाण्डे

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्ति नोबेल पुरस्कारको लागि आफू अयोग्य भएको मन्तव्य दिएर फेरि सबैलाई स्तब्ध बनाइदिएका छन् । भारत र पाकिस्तानको विवादको केन्द्रबिन्दु बनेको काश्मिर विवादको अन्त्य गर्ने व्यक्तिलाई नै शान्ति नोबेल पुरस्कार दिइनु ठीक हुने तर्क इमरानले प्रस्तुत गरेका छन् । भारत र पाकिस्तानको द्वन्दमा युद्ध उन्मादले भन्दा शान्तिको कूटनीतिक प्रयास प्रभावकारी बन्न पुगेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देखाएको कूटनीतिक शालिनताले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको युद्ध उन्मादी अहंकारी सोचलाई पराजित तुल्याइदिएको छ । खानको शालिनताबाट पराजित भएको मोदीको युद्ध उन्मादी सोचले युद्ध मात्र विजयको अस्त्र होइन भन्ने पुष्टि गरिदिएको छ । मोदीले राजनीतिक विवादलाई जतिसुकै युद्धतर्फ धकेल्ने प्रयास गरे पनि उनको प्रयास असफल भएको छ ।

भारत र पाकिस्तानको विवादको विषय काश्मिरी जनताको स्वतन्त्रताको सवालसँग जोडिएको छ भन्ने कुरा संसारलाई जानकारी भएको विषय हो । भारतीय शासकहरूमा काश्मिरी जनताको मनोभावनालाई बुझ्ने मानवीयता नदेखिंदा नै काश्मिरको समस्या समाधान हुन नसकेको हो । भारतीय शासकहरूले आफूहरू ब्रिटिश साम्राज्यवादीहरूको शासनमा पिल्सिनु परेको इतिहासलाई स्मरण गर्ने हो भने काश्मिरी जनताको स्वतन्त्रताप्रति पक्कै पनि मानवीयता देखाउन सक्दथे । ब्रिटिश साम्राज्यवादका विरुद्ध महात्मा गान्धीले जसरी अहिंसात्मक आन्दोलनको अस्त्र प्रयोग गरेका थिए, त्यसैगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय शासकहरूका विरुद्ध अस्त्र प्रयोग गरेर देखाएका छन् । इमान्दारिता साथ भन्ने हो भने पाक्स्तिानका प्रधानमन्त्री इमरान खानले आफूलाई सच्चा गान्धीवादीका रूपमा प्रस्तुत गरेका छन् ।

नेपाल अहिले सार्क राष्ट्रहरूको अध्यक्षको हैसियतमा रहेका बेला भारत र पाकिस्तानको पेचिलो सम्बन्ध केही समझदारीतर्फ उन्मुख देखिएको छ । छिमेकी देशहरूको भूबनावटको तुलनामा निकै सानो भए पनि अहिलेको अवस्थामा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने शक्ति प्राप्त गरेको मुलुकको हैसियत नेपालको बन्न पुगेको छ । जम्मु कश्मिरको पुलवामा भारतीय सुरक्षा निकायमाथि हमला हुँदा ४० जना भारतीय सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । हमला कसले ग¥यो भन्ने कुरा स्पष्ट छ । भारत शासित काश्मिरकै १९ वर्र्षीय युवाले आत्मघाती बम प्रयोग गरेर भारतीय सुरक्षाकर्मी माथि हमला गरेको पुष्टि भइसेकेको अवस्था छ । परन्तू भारतले यो हमलामा पाकिस्तान सरकारको संलग्नता छ भन्दै काल्पनिक आरोप लगाइरहेको छ । आफ्नै देशको नागरिकले आत्मघाती बम प्रयोग गरेको पुष्टि भइरहेको अवस्थामा छिमेकी देशलाई आरोपित गर्दै हवाई बम प्रहार गर्ने सम्मको मूर्खता भारत पक्षबाट प्रदर्शन गरियो । भारतको यो खालकोे मूर्खतालाई पाकिस्तानले अत्यन्त बुद्धिमत्तापूर्ण जवाफ दिएको छ, पक्राउ गरिएका भारतीय सेनालाई मुक्त गरेर । भारत र पाकिस्तानका बीचमा तनाव सुरु भएको धेरै भइसक्यो । लाखौंको संख्यामा काश्मिरी जनता मारिएका छन् । तर पनि भारत र पाकिस्तानको काश्मिर द्वन्द शान्त भइरहेको छैन । पाकिस्तान चाहन्छ काश्मिरी जनतालाई स्वतन्त्रता देउ, भारत चाहन्छ काश्मिरी जनता भारतकै भएर बस्नुपर्छ । यो द्धन्द्धको समाधान युद्धले गर्न सक्ला वा मानवीयताले ? दुवै देशका शासकहरूले सोच्नुपर्ने विषय हो ।

नेपालको भूमिका भारत र पाकिस्तानको द्वन्दमा निर्णायक बन्न सक्दछ । एकातर्फ सार्कको अध्यक्ष मुलुकसमेत रहेको नेपाललाई सार्कका सदस्यसमेत रहेका दुई छिमेकी मुलुकको द्वन्दलाई समाधान गर्नुपर्ने अवसर प्राप्त भएको अवस्था छ । अर्काेतर्फ विश्व शक्तिराष्ट्रको स्वार्थको केन्द्र नेपाल बनिरहेको वर्तमान अवस्थामा नेपालले आफ्नो उचाइ माथि उठाउन सक्ने अवस्था विकसित भएको छ । इमरान खान जस्ता प्रधानमन्त्री पाकिस्तानले पाएकोे छ, जसको सहयोगबाट नेपालले आफ्नो हैसियत पनि माथि उठाउन सक्दछ । नैतिक आचरण राम्रो भएको व्यक्तिले अवश्य पनि तमाम किसिमका उन्मादहरूलाई पराजित गर्ने हैसियत बनाएको हुन्छ ।

पाकिस्तानी विदेश मन्त्रीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन सम्पर्क गरी नेपालले सार्कमा रचनात्मक भूमिका खेल्नुपर्ने आग्रह गरिसकेका छन् । भारत र पाकिस्तान दुई मुलुककाबीचमा खट्पट भइरहेका बेला अध्यक्ष राष्ट्रका हैसियतले नेपालले सार्कमा रचनात्मक भूमिका खेल्नुपर्ने पाकिस्तानी विदेशमन्त्रीको आग्रह स्वाभाविक हो । सार्क क्षेत्रमा नेपालले आफ्नो भूमिकालाई बढाउनु पर्छ भन्ने सामान्य चेतना नेपालका शासकहरूमा पनि विकास हुनुपर्ने होे । सार्कको सक्रिय मुलुक भारतले पुलवा हमलामा तथ्य संकलन गरेर कसको संलग्नता छ भन्ने पत्ता लगाउनुको सट्टा जबरजस्ती पाकिस्तानलाई नै दोषी ठहर गर्ने गल्ती गरेको छ । भारतबाट भएको गल्तीलाई पाकिस्तानले शालिनतापूर्वक पुष्टि गरेको मात्र नभएर शान्तिको निम्ति पहल पनि गरेको छ भारतको सेना फिर्ता गरेर ।

क्षेत्रीय सहयोगका लागि गठन भएको सार्कमार्फत वास्तविकताको खोजी गर्ने अवसर भारतलाई खुल्ला नै छ । यदि काश्मिरकोे घटनामा पाकिस्तानको संलग्नता पुष्टि हुन्छ भने प्रमाण भारतले फेला पार्न नसक्ने कुनै कारण छैन । यदि पाकिस्तानविरुद्ध प्रमाण नै फेला पर्छ भने त्यसलाई सार्क तथा अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चबाट भारतले दबाब सिर्जना गर्न सक्दछ । आफ्नो अहंकार प्रदर्शन गर्नुपर्ने आवश्यकता थिएन र छैन । यसको ठीक विपरीत भारतले सार्कलाई भूमिकाविहीन अवस्थामै राख्न खोजिरहेको पुष्टि गर्दै युद्ध उन्माद प्रदर्शन गरेर नराम्ररी नांिगने काम ग¥यो । यस्तो अवस्थामा पाकिस्तानले सार्कको भूमिका खोज्नु स्वाभाविक देखिन्छ । यदि भारतको दाबी सही हुने हो भने सार्कको सक्रियताले भारतलाई नै सहयोग पु¥याउने अवस्था पनि विद्यमान छ । तर भारतले आफ्नो हैकममात्र प्रदर्शन गर्ने गल्ती गरिरहेको छ । सार्कप्रति भारतले गरिरहेको बेवास्ताले भारतको दाबीलाई कमजोर बनाउने निश्चित छ । तथापि अध्यक्ष मुलुकका हैसियतले नेपालको भूमिका अहिलेको अवस्थामा ज्यादै महत्वपूर्ण छ । सार्कको माध्यमबाट दुई मुलुकबीचको समस्या समाधानका लागि पहल गर्ने कुरामा नेपाल पछि पर्नु हुँदैन ।

शक्ति र प्रभावका हिसाबले नेपाल कमजोर भए पनि सामरिक हिसाबले नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय भूमिका धेरै महत्वपूर्ण र निर्णायक हैसियतमा छ । यो वास्तविकतालाई नेपालका शासकहरूले बुझ्न सकिरहेका छैनन् वा बुझेर पनि हैसियत देखाउन सकिरहेका छैनन् ? आश्चर्यको विषय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here