काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पूँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिदेखि समानुपातिक रूपमा २१३ दिनका लागि र करसमेत समावेश गरी प्रस्ताव गरिएको बैंकले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। नबिल बैंकले ग्राहक, शेयरधनी, नियामक निकाय तथा कर्मचारीप्रति निरन्तर विश्वास र साथका लागि आभार व्यक्त गरेको छ।
नबिल बैंक निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। बैंकले देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।













