अक्सिजन अभाव भएको बेला सुर्खेतमा दुई प्लान्टबाट अक्सिजन आपूर्ति

164

सुर्खेत । कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि अक्सिजनको चरम अभाव भएको बेला सुर्खेतस्थित प्रदेश अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको छ । एउटा पुरानो प्लान्ट र अर्को नयाँ प्लान्ट जडान गरी दैनिक एक सय बढी विरामीका लागि अक्सिजन आपूर्ति गरिएको हो ।
पुरानो प्लान्टबाट १५ जना विरामीलाई अक्सिजन आपूर्ति गरिएको छभने नयाँ प्लान्टबाट एक सय बढीलाई आपूर्ति गर्ने तयारी छ । प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डा. केएन पौडेलले हाललाई अस्पतालमा दुई वटा प्लान्टबाट अक्सिजन आपूर्ति हुँदा विरामीहरुको उपचार गर्न सहज भएको जनाउनुभयो । यद्यपि विरामीको संख्या बढ्दै गयोभने यो अक्सिजनले पनि थेग्न नसक्ने उहाँको धारणा  छ ।
सोमबारसम्म प्रदेश अस्पतालमा ७८ जना सङ्क्रमित उपचाररत छन् । ती मध्ये ७४ जनालाई अस्पतालकै प्लान्टबाट अक्सिजन आपूर्ति गरिएको फोकल पर्सन डा. पौडेलले जनाउनुभयो । अस्पतालको नयाँ र पुरानो गरी दुवै भवनमा सङ्क्रमितहरु राखेर अक्सिजन आपूर्ति गरिएको छ । पुरानो भवनमा प्लान्टबाट सिधै विरामीको बेडमा अक्सिजनको पाइप जडान गरिएको छ । प्रदेश अस्पतालमा वैशाख महिना लागे यता दैनिक सातदेखि १० जनासम्म सङ्क्रमितहरु उपचारका लागि आउने गरेका छन् । दुबै अक्सिजन प्लान्टबाट बढीमा १५० जना विरामीसम्मलाई थेग्न सक्ने जानकारी दिदैं उहाँले यो भन्दा बढी भएमा भने समस्या हुने उल्लेख गर्नुभयो ।
यो बाहेक अस्पतालमा नेपालगन्जदेखि १५० सिलिण्डर अक्सिजन आउने गरेको छ । बाँके पनि कोरोनाबाट अति प्रभावित भएपछि बाँकेबाट सिलिण्डर आउन पनि प्रभावित भइरहेको छ । फोकल पर्सन डा. पौडेलका अनुसार एउटा सङ्क्रमितले दैनिक तीन वटा सिलिण्डर खपत गर्ने गरेका छन् । सङ्क्रमितहरु आउने क्रम बढ्दै गएकोले आपूर्ति बढाउन नसके उपचारमा असर पर्ने उहाँको धारणा छ ।
यता कर्णालीमा एक साताभित्र दुई हजार सिलिण्डर खस्दै छ । स्वास्थ्य सेवा निर्देशनालयले प्रदेश मातहतका अस्पतालका लागि दुई हजार सिलिण्डर आउने तयारीमा रहेको जनाएको छ । स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले दुई हजार थान सिलिण्डरमा बढीमा एक साताभित्र आइसक्ने र ती सवै प्रदेश मातहतका अस्पताललाई वितरण गरिने जानकारी दिनुभयो । उहाँले प्रदेशभर चार सय बढी संस्थागत आइसोलेशनहरु निर्माण भइसकेको जानकारी दिदैं वेडको अभाव नभएको उल्लेख गर्नुभयो । प्रदेशले करारमा स्वास्थ्यका कर्मचारीहरु पनि भर्ना गर्न लागेकोले केही दिनभित्र जनशक्ति आपूर्ति भइ उपचारमा सहजता आउने उहाँको धारणा छ । प्रदेश अस्पतालमा सोमवारसम्म ७८ जना सङ्क्रमित उपचार गराइरहेका छन् । ती मध्ये १३ जना भेन्टिलेटरमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here