काठमाडौं/सामाजिक परोपकारी संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टर (अन्तरराष्ट्रिय निर्देशक) मा नेपालका खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका छन्। जेठ २१ र २२ गते आयोजना हुने डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन क्रममा लायन्सले नयाँ अन्तरराष्ट्रिय निर्देशकको नेतृत्व पाउनेछ।
सिटौलाले यसअघि नै लायन्स क्लब इन्टरनेशनलमा पूर्व काउन्सिल अध्यक्ष तथा ग्लोबल एक्सन टीम एरिया लिडरको जिम्मेवारी पूरा गरिसकेका छन्। अन्तरराष्ट्रिय लायन्सको गभर्नर हुँदा सिटौलाले विश्वको सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराएका थिए।
लायन्सको सञ्जालमा सिटौला अनुभवी, प्रतिभावान, कुशल समाजसेवी र सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनले सन् १९९७ मा लायन्स क्लब, दिङ्ला भोजपुरको संस्थापक सदस्यता प्राप्त गरेका थिए। सन् २०००-०३ सम्म क्लब अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने सन् २००२-०४ सम्म जोन चियर पर्सन थिए।
सन् २००४-०५ मा क्याबिनेट सेक्रेटरी हुँदै सन् २००६-०७ मा डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नर बनेका थिए। लायन्सको विभिन्न तहका जिम्मेवारी पूरा गर्दै अहिले उनी जी एटी एरिया लिडरका रूपमा सक्रिय छन्। अन्तरराष्ट्रिय डाइरेक्टर बनेपछि आफूले संसारभर नेपाललाई चिनाउन लागिपर्ने सिटौलाको प्रतिबद्धता छ।


















