अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग

106

 बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै नेता बोहराले समयमा अक्सिजन उपलब्ध हुन नसकेको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न समेत स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बुधबार लुम्बिनी प्रादेशिक अस्पतालले धागो कारखानामा सञ्चालन गरेको कोभिड अस्पतालमा ५ जना र भीम अस्पताल भैरहवामा ४ जना कोरोना संक्रमित बिरामीको समयमा अक्सिजन नपाएर नै ज्यान गएको घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उनले बताएका छन् ।

‘यो सरकारको गम्भिर लापरवाहीको परिणाम हो,कोरोनाको दोस्रो लहरको भयावह स्थितिमा अक्सिजनको प्रयाप्त व्यवस्था गर्न नसक्नु र अस्पतालहरूले अक्सिजनको कारणले नयाँ बिरामी लिन नसक्ने सुचना प्रकाशित गर्दा समेत त्यसको व्यवस्थापन गर्न नसक्नु भनेको सरकारको लाचारीपना र गैरजिम्मेवार कार्य हो’–विज्ञप्तीमा भनिएको छ–‘कोरोना संक्रमितहरु उपचार नपाई ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ ।’

जनताको जीवनको सुरक्षा प्रमुख दायित्व भएकोले संघीय, प्रदेश र स्थानीय सरकारले आफ्नो सम्पूर्ण श्रोतसाधनको प्रयोग कोरोना महामारीको नियन्त्रण र नागरिकको जीवन रक्षामा लगाउन उनको आग्रह छ ।

कोरोनाविरुद्धको खोपको तत्काल व्यवस्था गर्न पनि उनले माग गरेका छन् । उनले स्वास्थ्य सुरक्षा अपनाई महामारीमा नागरिकको जीवन रक्षामा आवश्यक सहयोग गर्न पार्टीका सदस्यहरूलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here