भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार भएको छ । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना आईसीबी टु का प्रमुख प्रविण न्यौपानेले जनाए।
चैत दोस्रो सातामै विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आबश्यक सबै बिद्युतीय उपकरणहरु जडान गर्ने काम उनले जनाए।
“क्यालिब्रेशन फ्लाइटलका लागि आवश्यक तयारीमा जुटेका थियौ तर यही बीचमा कोरोना भाइरस संक्रमणको जोखिम बढेसँंगै अहिले रोकिएको छ । हामी अहिले पनि निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आवश्यक जहाज र विदेशी प्राविधिक कसरी ल्याउन सकिन्छ भन्नेतर्फ प्रयास गरिरहेका छौं”–उनले जनाए। न्यौपानेका अनुसार विद्यमान अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुने बित्तिकै काम सुरु हुने छ ।
जडान भएका उपकरणहरुले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ । आईसिपी टु को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनी हो ।
विमानस्थलमा अहिले कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले काम गरिरहेका छन् । उनीहरूलाई कार्यक्षेत्रमै रहने व्यवस्था गरी काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रियवस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । बिमानस्थल क्षेत्रमा अहिले २० चिनियाँ, १८ भारतीय र ८० बढी नेपाली कामदार एवं प्राविधिक कार्यरत छन् । अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिङ्गको प्रस्थान र आगमन कक्षको इन्टेरियर, डेकोरेसन, फर्निसिङ, फल्स सिलिङ, एअर कन्डिसन जडान गर्ने काम भइरहेको छ । त्यसैगरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंङका काम भइसकेका छन् । “एउटा एक्सरे मेसिनबाहेक विदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरण छैनन्” उहाँले भन्नुभयो । धावनमार्गका लाइट, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टमलगायतका सबै काम सकिएका छन् ।
विमानस्थल क्षेत्रभित्रका अन्य पूर्बाधार निर्माण कार्य, बिद्युतीकरण लगायतका सबै काम सकिएका छन् । तारबारका काम सम्पन्न भएको छ भने पेरीफेरी रोड (इनर) निर्माण भएको छ । बाह्य सडक निर्माण भैरहेको छ । आयोजना प्रमुख अधिकारीले बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तिको समस्या परेको बताउनुभयो।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएशन कम्पनीले छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपिया“मा ग्लोबल टेन्डरबाट आईसिबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पहिलो चरणको अधिकांश काम सकिएसँगै अहिले दोस्रो चरणको काम चलिरहेको छ।

















