अक्सिजन प्लान्ट खरिदमा अनियमिता भएको खुलासा

117

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि अनियमितता भएको खुलासा भएको हो ।

अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेपछि आइतबार छानबिन समिति गठन गरिएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोलेनिकाको कर्मचारी र शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताउनुभयो । छानबिनमा दोषी ठहरिए जो–कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिने उहाँको भनाइ छ । सामान उपलब्ध गराउने कम्पनीले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालोसूचीमा राखिने उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भन्दै ४९ लाखमा खरिद गरेको जानकारी दिएको थियो । अक्सिजन प्लान्ट भनेकोमा अक्सिजन कन्सन्ट्रेटर भएको र अक्सिजन कन्सन्ट्रेटरलाई त्यति धेरै पैसा नपर्ने चिकित्सकहरूले बताएका छन् ।स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले अक्सिजन प्लान्ट भनेर नै टेन्डर आह्वान गरिएको तर कम्पनीले भने अर्कै समान पठाएको बताउनुभएको छ । मेसिनको प्राविधिक विषयमा आफूहरूलाई जानकारी नहुने तर्क राख्दै उहाँले टेन्डर अनुसारको किन सामान आएन भन्ने बारेमा आपूर्तिकर्तालाई सोध्ने बताउनुभयो ।

सामानको टेन्डरदेखि खरिदसम्म आफूलाई कुनै जानकारी नभएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सीपी ओली भने पन्छिएका छन् । उहाँले सामान खरिद गर्दा आफूसँग एक वचन पनि नसोधेको बताउनुभयो ।स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रालि सुर्खेतले ठेक्का पाएको थियो । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here