सूचना प्रविधि सेवाप्रवाह गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

81

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गरेका छन् । ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले साेमवार आयोजना गरेको भर्चुअल बैठकमा उहाँले कोभिड संकट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवाप्रवाह भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोभिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई उहाँले आह्वान गर्नुभयो । “सुरक्षित रहौं, स्वस्थ रहौं आफू सुरक्षित भई कोभिड संकटको सारथी बनेर दूरसञ्चार सेवाप्रदायकले आआफ्ना ठाउँबाट सेवा प्रवाहको कामलाई अघि बढाआँै, मन्त्री गुरुङले भन्नुभयो, “कोभिड संकट समाधानका लागि गरिने हरेक प्रयास मानवीय सेवा भएकाले यसमा शुद्ध मन, वचन र कर्मले लागौं ।”
दूरसञ्चार सेवालाई प्रभावकारी बनाउन सरकार ऐन, कानून, नीति, नियम परिमार्जन गरेर अघि बढ्न तयार रहेको जनाउँदै उहाँले त्यसका लागि आवश्यक सुझाव दिन पनि विज्ञलाई पटकपटक आग्रह गर्नुभयो ।
सरकारका प्रवक्ता गुरुङले दूरसञ्चार क्षेत्रले भोग्नुपरेका चुनौती सामना गर्ने गरी नेपालमा प्रभावकारी सेवा प्रवाहलाई अघि बढाउने गरी सोच, संकल्प र योजना बनाएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानून तर्जुमा गरेको जनाउँदै त्यसलाई आवश्यकतानुसार परिमार्जन गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले कोभिड संकट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here