राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्‍वान

94

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरूको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्‍वान गरेका छन्। सरकारीनिवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।

प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझावसमेत दिए। यदि त्यसो नभएमा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दलहरूले आफूलाई सहयोग गर्न पनि उनले आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, ‘ तपाईंहरू वैकल्पिक सरकार बनाउनुस्, मेरो दलले रचनात्मक सहयोग गर्छ’ उनले भने, ‘राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ।’

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय आजै साँझ ५ बजे सकिँदैछ।

सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

गत वैशाख ३१ गते संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो। तर वैशाख २७ गते विश्वासको मत लिन नसकेका ओली संसदको अंक गणितमा कुनै फेरबदल नआएपछि अर्को सरकार गठन थाल्न मार्ग प्रशस्त गरेका हुन्।

राष्ट्रपतिको आह्वानबमोजिम सरकार गठन हुन नसकेमा सरकारको सिफारिसमा राष्ट्रपतिले  संसद विघटन गरी मुलुकमा मध्यावधि निर्वाचनको मिति तोक्नुपर्ने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here