गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रु एक करोड ५१ लाख सात हजार ६४० सहयोग सङ्कलन भएको छ । प्लान्ट स्थापनाका लागि ‘रु १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक सङ्कलन महाअभियान सञ्चालन गरिएको थियो ।
पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइनेशनको सक्रियतामा शुरु गरिएको अक्सिजन प्लान्ट स्थापना अभियानमा हालसम्म रु तीन करोड ३३ लाख ६९ हजार ५१ सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।
कोरोनाका बिरामीका लागि ५० शय्या छुट्याएको अस्पतालको आफ्नै प्लान्ट नहुँदा निजी कम्पनीबाट अक्सिजन आपूर्ति हुँदै आएको छ । अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेशनका अध्यक्ष बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समितिसमेत गठन गरिएको छ ।
सो समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् । कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल हुन् ।
यसैगरी सदस्यमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशङ्कर पालिखे, एभरेष्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानाङ्ग हुन् ।
अक्सिजन प्लान्ट स्थापनाका लागि कम्पनी (भेण्डर) छनोट गर्ने एवं निर्धारित समयमा द्रुतमार्गबाट स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरणलगायतका काम पारदर्शीरूपमा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको जीवन बचाउने अभियानमा सहभागी हुन समितिले अपिल गरेको छ ।
रु पाँच करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यसबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने अध्यक्ष बतासले जानकारी दिए । प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नं ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने जनाइएको छ । rss


















