बुद्ध जयन्ती तथा उभौली पर्वको मुख्यमन्त्री राईद्वारा शुभकामना व्यक्त

221

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका उल्लेख गरेका छन्। ‘शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ, मुख्यमन्त्री राईले भन्नु भएको छ, बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ’ शुभकामनामा भनिएको छ।

त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।

‘हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको छ’ मुख्यमन्त्रीले शुभकामना शन्देशमा भनेका छन्, ‘साथै, यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग समेत गरेको  छ।‘

बढ्दो रुपमा फैलिएको कोरोना भाइरस का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन अपिलसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here