काठमाडाैं । जनता समाज पार्टी (जसपा) मा देखिएकाे समस्या अन्तत: पार्टी विभाजनकाे अवस्थामा पुग्ने संकेत देखिएकाे छ । पार्टी अध्यक्ष महन्त ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवकाे राजनीतिक लाइन र रणनीति फरकफरक भएपछि पार्टी फुटकाे संघारमा पुगेकाे हाे ।
पार्टीकाे कार्यकारिणी समितिमा कमजाेर देखिएकाे ठाकुर–महताे समूहले बहुमत पुर्याउन नसके पूरानाे दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल नै ब्युँताउने रणनीतिमा लागेकाे देखिएकाे छ । ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेकाे ठाकुर समूहका एक प्रभावशाली नेताले जनाएका छन् ।
कायर्कारीणी समितिमा बहुमत पुर्याउनका लागि पार्टीका प्रभावशाली नेता अशाेक राईलगायत चार जनासँग सघन वार्ता चलिरहेकाले तुरून्तै राजपा ब्यूताउने सम्भावना नदेखिए पनि बहुमत जुटाउन असफल भए राजपा ब्युँताउनुकाे विकल्प नदेखिएकाे उनीहरूकाे धारणा छ ।
जसपामा ठाकुर समूहले सरकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिइरहेका छन् भने यादव समूह विपक्षी गठबन्धनमा सामेल भएका छन् । दुबै समूहका नेताहरू पार्टी एउटै भएपनि राजनीतिक रणनीति विपरित दिशामा गएकाले अब पार्टी विभाजन अवश्यसम्भावि भएकाे दुबै तर्फका नेताहरू जनाउन थालेका छन् ।


















