काठमाडौं । संसद विघटन र निर्वाचनको घोषणा पछि स्वतः काम चलाउ सरकारमा परिणत भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नयाँ १२ जना मन्त्रीहरु नियुक्त भएका छन् ।
आफ्नै पार्टी भित्र भाँडभैलो भएका बेला प्रधानमन्त्री ओलीले आज जसपाको ठाकुर महतो समुहका १० सहित १२ नयाँ मन्त्री नियुक्त गरेका छन् ।
आज एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहित १३ मन्त्री आउट भएका छन् । यति धेरै मन्त्री नियुक्त गर्दा समेत प्रधानमन्त्री ओलीले रक्षा र गृहमन्त्रालय भने आफैसँग राखेका छन् ।
यस अघि रक्षा मन्त्री ईश्वर पोखरेल थिए । उनलाई हटाएर आफैले यो मन्त्रालय सम्हालेका प्रधानमन्त्रीले जेठ ६ गते सर्वोच्चको आदेश अनुसार पूर्व माओवादी समुहका तर्फबाट राम बहादुर थापाले सम्हालेको गृहमन्त्रालय पनि प्रधानमन्त्री स्वयंले राखेका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाम्फे विदा भएका छन् ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा भएका छन् ।
स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।
यसै गरी चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
जसपाबाट यी भए मन्त्री
जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।


















