यस्ताे छ युरो कपको ६० वर्षे इतिहासमा १० अप्रत्यासित नतिजा

196

युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म चल्ने छ ।

यस पटकको युरो केही खास हुने छ । किनकि प्रतियोगिता पहिलोपटक युरोपका विभिन्न ११ सहरमा आयोजना हुँदै छन् ।

युरो कपको  ६० वर्षे इतिहासमा कैयौं पटक यस्ता नतिजा निस्किएका छन् । जसलाई कसैले पनि कल्पना गरेका थिएनन् ।

सन् २०१६ को युरोमा सवैभन्दा बढी अप्रत्यासित नतिजा निस्कियो । यस युरोमा २९ प्रतिशत जित अन्डरडग टिमहरूले निकाले । जसमा पोर्चुगलले आयोजक फ्रान्सलाई फाइनलमा हराएको खेल पनि सामेल छ ।

युरो कपको ६० वर्षे इतिहासमा निस्किएका १० अप्रत्यासित नतिजा

इङ्ल्यान्ड-युगोस्लाभिया (०-१)
१९६८,सेमिफाइनल

सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डको यात्रा दुई वर्षपछिको युरोमा सेमिफाइनबाटै टुंगिन्छ भन्ने कमैले अनुमान लगाएको थिए । अझ त्यसमा पनि युगोस्लाभियासँग पराजित हुँदै ।

बबी मुर, बबी चार्लटन, जोर्डन ब्याङ जस्ता खेलाडीको साथ पाएको इङ्ल्यान्डले अर्को उपाधि हात पार्ने विश्वास लिइएको थियो ।

इङ्ल्यान्डको यो सपनामा बाधक बने ड्रागन झाइक । उनले ८६ औं मिनेटमा गरेको गोलले नै युगोस्लाभियाले  युरोकपको फाइनलमा स्थान बनायो ।
फाइनलमा इटालीसँग पराजित हुँदै युगोस्लाभिया उप विजेता बन्यो ।

पश्चिम जर्मन-स्पेन (०-१)
१९८४, समूह चरण 

साबिक विजेता पश्चिम जर्मनलाई समूहको उप विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्न मात्र एक अंक आवश्यक थियो ।

खेल जर्मनको पक्षमै चलिरहेको थियो । तर ९० औं मिनेटमा स्पेनका एन्टोनियो मेसेडाले गोल गर्दै जर्मनको सपना चकनाचुर बनाइदिए । साविक विजेता पश्चिम जर्मनलाई समूह चरणबाटै बिदाइ गरेको स्पेन फाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

ग्रिस- पोर्चुगल (२-१)
२००४, समूह चरण

समूह चरणको पहिलो खेलमा ग्रिसले पोर्चुगललाई २-१ ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।​ ग्रिसका लागि जर्जियस करागुनिस र एन्गोलस बसिनासले गोल गर्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काएका थिए ।

युक्रेन-उत्तरी आयरल्यान्ड (०-२)
२०१६, समूह चरण

आयरल्यान्डले युक्रेनलाई २-० ले पराजित गर्दै कुनै पनि ठुला प्रतियोगितामा सन् १९८२ पछि पहिलो जित दर्ता गरेको थियो ।
युक्रेनलाई हराउँदै क्वाटर फाइनल पुगेको आयरल्यान्डका लागि गारेथ म्याकौली र नायल म्यागिनले गोल गरे ।

सिआईएस-स्कटल्यान्ड (०-३)
१९९२, समूह चरण

सोभियत संघबाट अलग भएका केही राज्यको स्वतन्त्र टिमका रूपमा कमनवेल्थ स्वतन्त्र राज्य (सिआईएस) ले सहभागिता जनाएको थियो ।

समूह चरणबाटै बाहिरिएको स्कटल्यान्डले अन्तिम खेलमा अप्रत्यासित रूपमा सिआईएसलाई ३-० ले पराजित गर्‍याे । स्कटल्यान्डको जितमा पल म्याकस्टे, ब्रेन म्याक्यिर र ग्यारी म्याकलिस्टरले गोल गरेका थिए ।

नेदरल्यान्ड-डेनमार्क (०-१)
२०१२, समूह चरण

सन् २०१० को विश्वकप उपविजेता नेदरल्यान्डले २०१२ को युरो कपमा डेनमार्कसँग अप्रत्यासित हार बेहोर्‍याे । समूह चरण अन्तर्गत भएको खेलमा डेनमार्कलाई जित दिलाउन माइकल क्रोहन देहलीले गोल गरेका थिए ।

बेल्जियम-टर्की (०-२)
२०००, समूह चरण

टर्कीले बेल्जियमलाई हराउँदै पहिलो पटक कुनै पनि ठुला प्रतियोगिताको नकआउट चरणमा स्थान बनायो । प्रतियोगिताको सह-आयोजक समेत रहेको बेल्जियमलाई समूह चरणबाटै घर फर्काएको टर्कीका लागि दुवै गोल हकान सुकुरले गरेका थिए ।

बेल्जियम-वेल्स (१-३)
२०१६, क्वाटर फाइनल

यो युरो कपको अविस्मरणीय जितमध्ये एक हो । ५८ वर्षपछि कुनै ठुलो प्रतियोगितामा सहभागिता जनाएको वेल्सले बलियो मानिएको बेल्जियमलाई हराउँदै सेमिफाइनल प्रवेश गर्‍याे ।
राद्जा नायनगोलानले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर एस्ले विलियम्स, रोब्सन कानु र साम भोक्सले गोल गर्दै वेल्सलाई जित दिलाए ।

ग्रिस-फ्रान्स (१-०)
२००४, क्वाटर फाइनल

सन् २००४ को युरोमा अप्रत्यासित प्रदर्शन गरिरहेको ग्रिसले बलियो मानिएको फ्रान्सलाई पनि पराजित गरेको थियो ।

साविक विजेता फ्रान्सलाई हराउँदै सेमिफाइनल पुगेको ग्रिसका लागि एन्जेलस चरिस्टियासले गोल गरेको थिए । ग्रिसले सेमिफाइनलमा चेक गणतन्त्र र फाइनलमा आयोजक पोर्चुगललाई समान १-० ले हराउँदै पहिलो तथा एक मात्र युरो कपको उपाधि उचालेको थियो ।

इङ्ल्यान्ड-आइसल्यान्ड (१-२)
२०१६, अन्तिम १६

यो युरो कपको मात्र नभएर इङ्ल्यान्ड फुटबल इतिहासको पनि एक अप्रत्यासित नतिजा हो ।

पेनाल्टी मार्फत् गोल गर्दै इङ्ल्यान्डले अग्रता लिएको थियो । तर रग्नर सिगर्डसन र कोल्बेन सिगथोर्सन गोल गर्दै आइसल्यान्डलाई जित दिलाए ।

 बिबिसीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here