काठमाडौं । नागरिकता विधेयक राष्ट्रिय सभाबाट आजै पारित गर्ने तयारी भएको छ।
बैठक दिउँसो २:५९ बजे बोलाइएको छ।
विधेयकमाथि छलफल सकिएपछि आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ।
राष्ट्रिय सभामा नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) माथि बिहीबारबाट छलफल सुरु भएको हो।
तर, छफलमा भाग लिने सांसदहरुको बोल्नेक्रम नसकिएपछि बैठक आजका लागि बोलाइएको हो।
यसअघि प्रतिनिधि सभाले विधेयक जस्ताको त्यस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभाबाट पठाएको थियो। राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो। विधायन समितले पनि बिनासंशोधन पारित गरी राष्ट्रिय सभामा पेस गरेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सदनका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक पुनरविचार गर्न भनेर १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन्।
अब राष्ट्रिय सभाबाट विधेयक पारित भए प्रमाणीकरणका लागि पुन : राष्ट्रपतिकहाँ जानेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भए विधेयकले कानुनको रुप लिनेछ।


















