जेनेभा। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले युक्रेनमा तीन हजार जना दीर्घरोगीले ज्यान गुमाएको जनाएको छ।
डब्लूएचओका युरोपेली प्रमुख डा. हान्स हेनरी पी क्लगले ५३ सदस्य राष्ट्रहरू र संगठनका सहकर्मीले भाग लिएको क्षेत्रीय बैठकमा दीर्घरोगको उपचार नपाउँदा ज्यान गुमाएको बताएका छन्।
“युक्रेनको ४० प्रतिशत घरहरूमा कम्तीमा एक जना दीर्घरोगी छन्, जसलाई समय-समयमा उपचारको आवश्यकता पर्छ,” प्रमुख क्लगले एचआईभी एड्स, क्यान्सरलगायत रोगहरूको कारण उल्लेख गर्दै भने, “परिणामस्वरूप बचाउन सकिने तीन हजार मानिस अकाल मृत्युको शिकार बन्नुपरेको छ।”
गत साता डब्लूएचओका अधिकारीहरूले आक्रमणहरूमा सम्भावित युद्ध अपराध अनुसन्धानका लागि प्रमाण संकलन गरिरहेको बताएका थिए। रूसले युक्रेन र पश्चिमा राष्ट्रहरूले युद्ध नागरिहरूलाई लक्षित गरेको भनी लगाएको आरोप पनि अस्वीकार गरिरहेको छ।
कोपनहेगनमा सञ्चालित बैठकमा डब्लूएचओका सदस्यहरूले रूसले युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा विचार गर्दै मस्कोमा रहेको प्रमुख क्षेत्रीय कार्यालय समेत बन्द गराउन सक्ने उपायहरू प्रस्ताव गर्यो।
डब्लूएचओको सदस्य रहेको रूसले भने प्रस्तावको विरुद्ध आवाज उठायो। रूसी दूत एन्ड्री प्लुटनित्स्कीले भने, “विश्व स्वास्थ्य संगठन युक्रेनमा मानवीय संकटको मुद्दालाई सम्बोधन गर्न, यसको प्रावधानहरू कडा रूपमा लागू गर्न र आफ्नो जनादेशको दायरामा अडिग हुनुपर्छ। र, स्वास्थ्य सेवाको क्षेत्रमा सहयोगलाई राजनितीकरण गर्नुहुँदैन।”
बैठकमा सहभागी केही सदस्यले विश्व स्वास्थ्य संगठनले सुझाएका उपायहरूको आलोचना गरेका छन्। धेरै टाढा जान नहुने उनीहरूको मत थियो।
वासिङ्टन डीसीको जर्जटाउन ल (कानून) का प्राध्यापक लरेन्स गोस्टिनले भने, “रूसी कार्यालय बन्द गर्नु नम्र र नरम देखिन्छ। पुटिनले वास्ता गर्दैनन्।”
![]()
कार्यकारी बोर्डबाट निलम्बन गर्ने प्रयास गरे पनि कानूनी जटिलताका कारण डब्लूएचओले बोर्डबाट रूसलाई हटाउन सकेन। यद्यपि सदस्यहरूले यस महीनाको अन्त्यसम्ममा रूसको मतदान अधिकार फ्रीज गर्ने कोशिश गर्नसक्ने कुटनीतिज्ञहरूले बताएका छन्। युक्रेन र पश्चिमा राष्ट्रहरूले रूसले बिना उक्साहट युद्ध शुरु गरेको बताउँछन्।
रोयटर्स बाट


















