प्रधानमन्त्री ओली र नेपालबीच पुनर्मिलनको सम्भावना समाप्त

50

काठमाडौं । सत्तारुढ नेकपा एमाले पार्टी एक रहने सम्भावना लगभग लगभग सकिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण भन्दै आइतबार राति राखेको ७ बुँदे प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले अस्वीकार गरेपछि तत्कालका लागि सम्भावना टरेको हो ।

ओलीले आफू २०७५ जेठ ३ गतेको आधारमा अगाडि बढ्न तयार रहेको बताएका थिए । तर, नेपाल समूहले आफूहरुले २०७५ जेठ २ का आधारमा काम गर्न भनेको भन्दै तल्लो गह्राको पानी माथिल्लो गह्रामा जान असम्भव हुने जवाफ फर्काएको छ ।

नेपाल समूहले ओलीले अल्मल्याउनलाई आफूहरूको प्रस्तावविपरीत पासा फ्याकेको निकष्र्ष निकालेको हो । ३ जेठ २०७५ मा त तत्कालीन एमाले नै नरहेको नेपाल समूहका नेता युवराज ज्ञवालीले बताए ।

‘जेठ २ गते नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति, पोलिटव्यूरो र स्थायी समिति हो । उहाँले ३ जेठलाई आधार बनाउनु भएको छ । त्यो नेकपा बनिसकेको अवस्था हो ।

नेकपा बनेपछि त थुप्रै मानिस थपिएका छन् । ती सबै मानिसको एकता ओलीले भन्नु भएको छ । यहीनेरै ठूलो गडबडी छ । यसमै उहाँले एकता नचाहेको र जेठ २ मा पुग्न नचाहेको भन्ने देखिन्छ,’ ज्ञवालीले भने ।

नेपाल समूहले ओलीले आफूहरुलाई अल्मल्याउन खतरनाक कुरा लुकाएर एकता गर्ने भनेको छ । वरिष्ठ नेताद्वयसहित ११ नेतालाई गरिएको कारबाही फिर्ता नगरी प्रस्तव ल्याउनुको अर्थ नरहेको ओलीको भनाइ छ ।

‘नेतालाई कारबाही गर्ने अनि एकता गरौं भन्ने, भन्न खोजेको के ? रहस्य यसैभित्र लुकेको छ,’ समूहले भनेको छ । ओलीको प्रस्ताव समूहमा विभाजन गर्न सकिन्छ कि भनेर फालिएको पासा मात्रै रहेको ज्ञवालीले बताए ।

त्यस्तै संविधान मिचेर गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा गरिएको हस्ताक्षर फिर्ता गर्न नसकिने, मिल्न विघटन असंवैधानिक हो, गल्ती गरे आत्मालोचनासहित सच्याउँछु भन्नुपर्ने शर्त राखेको छ ।

एमालेकै माधवकुमार नेपाल पक्षका अर्का नेता घनश्याम भुसालले पार्टी एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गरेको भन्दै आपत्ति जनाएका छन् । भुसालले नेकपा एमाले विभाजन गर्न ‘सुकुलगुण्डा समूह’ तयार भएको हो कि भन्दै प्रश्न पनि गरेका छन् ।

तर, एमाले अध्यक्ष ओलीले २०७५ जेठ ३ अनुरुपको पार्टी समिति बनाउन तयार भनेपछि नेपाल समूहका नेताहरु विभाजित भएका छन् । केही नेताहरु ओलीको वक्तव्यलाई एकताको आधार तय गर्ने खालको भएको बताएका छन् भने केहीले आफूहरुलाई अल्झाउन पासा फ्याकेको बताएका छन् ।

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने राखेको शर्त अल्मल्याउने रणनीति मात्रै भएको नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनालले बताए । ओलीको वक्तव्यबारे आधिकारिक धारणा तय गर्न आन्तरिक छलफलमा नजुट्दै फरक फरक धारणा आएपछि समूह विभाजित हुने सम्भावना प्रवल देखिएको हो ।

नेपाल समूहका गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका नेताहरूले ओलीको विज्ञप्तिलाई उपयोग गरेर जानुपर्ने बताइरहेका छन् । घनश्याम भुसाल, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावललगायतका नेताहरु भने आफूहरुलाई अल्मल्याउने रणनीति मात्रै भएको बताउँदै अल्मल्लिन नहुने बताइरहेका छन् ।

ओलीको वक्तव्यपछि नेपाल समूहका नेता भट्टराईले सकारात्मक कदम भएको भन्दै अब कार्यदलले काम गर्ने बाटो खुलेको बताएका छन् । शीर्ष नेतृत्वमा संवाद हुने आधार विज्ञप्तिले तय गरेको भट्टराईको भनाइ छ ।

तर, नेपाल समूहका रघुजी पन्तले भने ओलीको ढुलमुले बक्तव्य आएकाले छलछाम मात्रै हुनसक्ने आशंका व्यक्त गरे । एकताको नाममा एउटा हात मिलाउने अर्को हातले छुरी धस्ने काम ओलीले गरिरहेको उनको भनाइ छ । अभियान टाइम्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here