काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल काठमाडौं भ्युटावर भत्काउनुपर्ने पक्षमा उभिएकी छन् ।
मेयर बालेन्द्रले भ्यूटावर भत्काउने योजना बनाउँदै गर्दा उपमेयर पनि भत्काउने पक्षमा उभिएकी हुन् । पत्रकारहरूसँगको भेटघाटमा उपमेयर डंगोलले काठमाडौं भ्यूटावर औचित्यहीन रहेको जनाइन् ।
उपमेयर डंगोलले महानगरमा ऐतिहासिक, पुरातात्विक सम्पदा मासेर बनाइएका अन्य संरचनाको समेत अध्ययन हुनुपर्ने जनाइन् । ठमेलको छाया सेन्टर पनि आवश्यक अध्ययन गरेर निर्णय लिन आवश्यक रहेको उल्लेख गरिन् । होटल हिल्टनको विषयमा पनि अध्ययन गरिने उनले जनाइन् । उनले भनिन्, ‘मुद्दा चलिरहेको बेला मैले बोलिरहन त मिल्दैन । तर, मेरो व्यक्तिगत विचार भनेको पोखरीमा बनेको त्यो संरचना भत्काएर पोखरीलाई जीवन्त दिइनुपर्छ ।’
उनले सम्पदा संरक्षणको कुरा मात्रै नभएर अब सम्पदालाई मास्दै जान नहुने बताइन् । ‘अहिले बनाउँदा यति खर्च भयो उति खर्च लागो भनिएला । तर, हाम्रा सम्पदा जोगाइराख्न सके सयौं वर्ष जीवन्त राख्न सक्छौं,‘उपमेयर डंगोलले भनिन्,‘ त्योभन्दा ठूलो सम्पत्ति केही हुन्न । त्यहाँ पुरानै अवस्थामा फर्काउन सकेको दिनमात्र सम्पदा संरक्षणमा लागिरहनुभएकाहरूले न्याय पाउनु हुनेछ ।’
मेयर शाहले महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले अनियमिता गरेर काठमाडौं टावरको नक्सापास गरिदिएको आरोप लगाउँदै कारबाही गरेका थिए । साे विवादसँगै टावरमा नीतिगत भ्रष्टाचार समेत भएको मेयर शाहले जनाएका छन् ।
















