सूचनामन्त्री थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न कार्यदल बनाउने

167

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा  कार्यदल बनाउने पहिलो निर्णय गर्नुभएको छ । मन्त्रालयमा बिहिवार पदभार ग्रहण गर्दै मन्त्री थापाले  सञ्चार र  सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
एकार्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । उहाँले पूर्वसञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
उहाँले सरकार र सरकारका योजना सफल बनाउँदै नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकाङ्क्षा लिइएको बताउँदै भन्नुभयो, “आजको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।”
सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपालको सपना पूरा गर्ने उद्देश्यले मन्त्रालयले नागरिक एप कार्यान्वयनमा ल्याउनाका साथै सबै स्थानीय तहमा इन्टरनेट सेवा पु¥याउने योजना कार्यान्वयन गरिरहेको मन्त्रीसमक्ष जानकारी गराउनुभयो । उहाँले पत्रकारका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, प्रेस पासलाई आधुनिकीकरण गर्ने र विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लैजानेलगायत मन्त्रालयका आगामी योजना सुनाउनुभयो ।
रुपन्देही जिल्लामा जन्मिनुभएका मन्त्री थापा हाल चितवनमा बस्दैआउनुभएको छ । पूर्वशिक्षिका थापा संगठित हुँदै २०३५÷०३६ को विद्यार्थी आन्दोलनमा सहभागी हुनुभएको थियो । विसं २०३८ मा नेकपा (चौम) पार्टी सदस्य र  अनेमसंघका जिल्ला सचिव, २०४२ मा अनेमसंघका केन्द्रीय महासचिव, २०४७ मा अनेमसंघका केन्द्रीय संयोजक हुँदै २०५० सालमा एकीकृत अनेमसंघका केन्द्रीय महासचिव हुनुभएको थियो ।
विसं २०६४–२०६८ सम्म राष्ट्रिय महिला आयोगका अध्यक्ष हुनुभएका थापा तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिलासम्बन्धी विज्ञ समूहका सदस्यको रुपमा काम गर्दै आउनुभएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here